काठमाडौं । खुलामञ्च खुला गर्न स्थानीयवासी र सम्पदाप्रेमीहरु विहिवार सडकमा उर्लिएका छन ।
गैरकानुनी रुपमा खुलामञ्चमा रातारात ५२ वटा व्यापारिक सटर निर्माण गरेपछि स्थानीयवासी, सम्पदाप्रेमी, सर्वसाधराण स्वतःफूर्त रुपमा खुलामञ्च अतिक्रमण विरुद्ध सडकमा उत्रिएका हुन ।
खुलामञ्चमै भेला भएर उनीहरुले अतिक्रमणविरुद्ध नारावाजी लगाउँदै सटहरु बन्द गराएका थिए । चौतर्फी रुपमा सार्वजनिक स्थानहरु, खुला ठाउ, पोखरीहरु भूमिफाहरुले अतिक्रमण गर्न थाल्दा पनि राज्यको मौनता भ्रष्टाचारको चरम रुप भएको एक स्थानीयले बताएको छ ।
काठमाडौं महानगरपालिकाले तत्काल खुलामञ्च अतिक्रमणविरुद्ध कुनै कदम नचाले महानगरविरुद्ध कडा आन्दोलन गर्ने स्थानीयवासीहरुले चेतावनी दिएका छन ।
यस अघि काठमाडौं महानगरपालिका २८ वडा अध्यक्ष भाईराम खड्गीले खुलामञ्च अतिक्रमण गरी बनाएको सटरहरुबारे वडालाई कुनै जानकारी नदिई निर्माण गरेप्रति आपत्ति प्रकट गर्दै यस विरुद्ध आफुहरु लड्ने बताएका छन ।
सो विरोध प्रदर्शनमा कांग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ७ का सांसद भिमसेनदास प्रधानसहित उपस्थती रहेको थियो ।
त्यसैगरी प्रदर्शनमा सहभागीहरुले काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बसपार्क र सटर सञ्चालन गर्न अनुमति दिएकोे भन्दै आक्रोश व्यक्त गरेका थिए ।
काठमाडौं भ्यू टावर निर्माणको ठेक्का भएका जलेश्वर स्वच्छन्द बिकोईले खुला मञ्च अतिक्रमण गरी सटर बनाई व्यापारीहरुलाई भाडामा दिएपछि स्थानीय र सम्पदाप्रेमीहरूले ‘खुला मञ्च, खुला राखौं’ अभियान सुरू गरेका हुन ।
सो विरोध प्रर्दशनमा सहभागीहरुले काठमाडौ महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई सटर तत्काल हटाउन एक ज्ञापन पत्र समेत बुझाउने भएका छन ।


Categorized in समाज