काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्र २०७६ को लागि आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ ।
महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
महानगरका शिक्षा अधिकारी निर्मला केसीका अनुसार आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क रु एक हजार ६३० कायम गरेको छ ।
त्यस्तै ‘ग’ वर्गका विद्यालयको रु दुई हजार २४, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ४१८ र ‘क’ वर्गका विद्यालयको रु दुई हजार ८१२ निर्धारणको छ ।
आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम शुल्क रु एक हजार ९०१, ‘ग’ वर्गका विद्यालयको रु दुई हजार ३५१, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ८०१ र ‘क’ वर्गका विद्यालयको रु तीन हजार २५१ कायम गरिएको छ ।
माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले रु एक हजार ५३७ अधिकतम शुल्क लिन पाउनेछन् । यसअघि त्यस वर्गका लागि अधिकतम शुल्क रु ८३८ थियो । त्यस्तै ‘ग’ वर्गका लागि तीन हजार ४९, ‘ख’ वर्गका लागि तीन हजार ७६२ र ‘क’ वर्गका लागि रु चार ३७३ अधिकतम शुल्क तोकिएको विभागका प्रमुख केसीको भनाइ छ ।
काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन ।
फागुन २६ गते बसेको बैठकले चालू शैक्षिकसत्रको शुल्क निर्धारण गरेको हो । कक्षागत शुल्कको दर तोक्नका लागि शिक्षा नियमावलीको दफा ५९ को अनुसूची २२ क मा व्यवस्था गरिएको छ ।
कामपाले विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि आगामी वैशाख २ गतेदेखि १४ गतेसम्म भर्ना अभियान शुरु गर्ने भएको छ ।
Categorized in समाज