काठमाडौं । ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल भाषाबाट पढाउन शुरु गरेको थियो ।
हाल १० इसिडी सञ्चालनमा छन । विद्यालयका तल्ला कक्षबाट शुरु गरेर नेपाल भाषालाई माथिल्लो कक्षासम्म पु¥याउने उद्देश्य रहेको उनले बताए ।
सामुदायिक विद्यालयले अभिभावकलाई आकर्षित गर्ने भन्दै अङ्ग्रेजी माध्यममा पढाइरहँदा महानगरपालिकाले भने मातृभाषामा कक्षा शुरु गर्ने तयारी गरिएको जनाएको छ ।
अंग्रेजी प्रभाव बढेपनि केही अभिभावकले सन्तानलाई नेपाली र कतिपय अभिभावकले मातृभाषामा पढाउन चाहेको शिक्षा अधिकारी क्षेत्रीले बताए ।
महानगरपालिकामा सामुदायिक ४० र संस्थागत १८२ गरेर जम्मा २०२ विद्यालय र प्रारम्भिक बाल विकास ७४ रहेका छन । नेपाल भाषाको लिपि रञ्जना हो जुन नेपालले संयुक्त राष्ट्र सङ्घमा सदस्यताका लागि आवेदन दिँदा आफ्नो मौलिक लिपि भनी पेश गरेको थियो ।
Categorized in समाज