काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी विचार बोक्ने नेताहरुले कार्यशैली पनि समाजवादी बनाउनु पर्ने बताएका छन ।
शनीवार नुवाकोटको रानीपौवामा भएको जिल्ला समिति पुनर्गठन भेलामा सह–अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टी नेताहरूलाई १५० किलोको माला पहिर्याई दिएर वा व्यक्ति पुजाको शैलीबाट होइन सही नीति र विचारको कार्यान्वयनको आधारमा बन्ने बताए ।
उनले भने, ‘समाजवादी विचार बोकेका नेताहरूले सिद्धान्त मात्र नभई आफ्नो कार्यशैली पनि समाजवादी बनाउन सक्नु पर्छ ।’
धादिङ जिल्ला नेता देवराज घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका अध्यक्ष लालवहादुर तामाङले कुनै पनि संगठन जन्मदा सानो भएर जन्मन्छ, तर विचार सही भए संगठन फैलिएर जान्छ भन्दै ससफो नेपाल जन्मंदै आकारमा काङ्ग्रेस कम्यनिष्टभन्दा ठूलो भएको बताए ।
भेलामा पार्टी केन्द्रीय सदस्यहरूमा ३ नं प्रदेशका उपाध्यक्ष न्हुच्छेलाल महर्जन, मुख्यसचिव तारा सिं विश्वकर्मा, ताम्सालिङ समितिका अध्यक्ष कृष्ण कुमार घलान, माओवादी कम्युनिष्ट केन्द्रबाट ससफोमा एकीकृत भएका नेता केशव दाहाल, पार्टीका केन्द्रीय लेखा परिक्षण समितिका सदस्य चञ्चला पराजुली, लगायतका नेताहरूले पनि शुभकामना दिएका थिए ।
ताम्सालिङ समितिका सदस्य उत्तम अधिकारीले सञ्चालन गरेको उक्त भेलाले देवराज घिमिरेको अध्यक्षतामा सर्वसम्मत रूपमा २१ सदस्यीय ससफो नुवाकोट जिल्ला तदर्थ समिति पुनर्गठन गरेको छ ।
Categorized in राष्ट्रिय