काठमाडौं । हिन्दुहरुको महानचाँड शिवरात्री नजिकिँदै जाँदा पशुपतिमा साधुसन्तको आगमन बढेको छ ।
पत्रकार सम्मेलन गरेर महाशिवरात्रीको विषयमा जानकारी दिँदै पशुपति क्षेत्र विकास कोषले विगत भन्दा बढि साधुहरु आएको जनाएको छ ।
सददस्य सचिव डा. प्रदीप ढकालका अनुसार शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भईसकेको जनाएको छ ।
फागुन २० गते महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइने सो पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन ।
हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी १०० संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको समेत मिलाइएको छ ।
त्यसैगरी साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र चिसोबाट बच्न धुनी बाल्ने व्यवस्था गरिएको छ । फागुन २२ गते बुधबार सबै साधुसन्तलाई दान–दक्षिणासहित बिदाइको तयारी कोषले गरेको छ ।
मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ ।
ज्येष्ठ नागरिक र अशक्तलाई दर्शन गर्ने विशेष व्यवस्था मिलाइएको जनाइएको छ । पर्वको तयारीका लागि आठ उपसमिति गठन गरी सबै तयारी अन्तिम चरणमा पुगेको छ ।
Categorized in सम्पदा/संस्कृति