३ भाद्र २०८३, बुधबार
Header

सिसिटिभी जडानको लागि महानगर र प्रहरीविच ३ करोडको सम्झौता


प्रकाशित: विहिवार, १६ फागुन २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिसिटिभि ( क्लोज सक्र्युट टेलिभिजन) जडानको लागि प्रहरीसँग ३ करोडको सम्झौता गरेको छ । 


सुरक्षित र व्यवस्थित सहरको लागि महानगरले प्रहरीसँग सो सम्झौता गरेको हो । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरिक्षक सेवेन्द्र खनाललाई बुधवार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा ३ करोडको चेक हस्तान्तरण गरेको हो । 


सो सम्झौतामा महानगरकातर्फबाट सहसचिव डा. टोकराज पाण्डेले र परिसरकातर्फबाट प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले हस्ताक्षर गरेका छन । 


सम्झौता अनुसार प्रहरी परिसर दोश्रो पक्ष भएर सिसिटिभी प्रणाली जडान र सञ्चालन गर्ने काम गर्नेछ । यस प्रणालीबाट शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासनसँग सम्बन्धित गतिबिधि निगरानी गरिने छ ।


प्रमुख शाक्यले प्रहरीको सहयोगले मात्र सुरक्षा व्यववस्था  बलियो र विश्वसनीय हुने भएकोले महानगरले यो जिम्मेवारी प्रहरीलाई दिएको बताए । 


यस प्रणालीलाई उन्नत बनाउन प्रहरीसँगको साझेदारिता परिणाममुलक हुने आशा प्रमुख शक्यको भनाई थियो । 


त्यसैगरी सो कार्यक्रममा बोल्ने क्रममा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले  प्रणाली जडान भएपछि नागरिकले म सुरक्षित छु, मेरो सहर व्यवस्थित छ भन्ने महसुस गर्ने बताए । 


यस प्रणालीबाट नगरिकमा पनि सचेतना बढ्ने र सहरप्रतिको आफ्नो दायित्वबोध बढ्नेछ । 


महानगरसँग सम्झौता भएपछि स्थानीय सरकारसँग साँच्चै नै साझेदार भएको महसुस प्रहरी प्रमुख सर्वेन्द्र खनालले बताए । स्थानीय सरकारसँग साझेदारिता बढाउँदै सिसिटिभिको राष्ट्रिय ग्रीड तयार गर्ने हाम्रो सोच भएको खनालको भनाई छ । 


क्यामरा जडान, सञ्चालन, मर्मत सम्भार र सूचनाको उपयोग गर्ने प्रणालीका लागि परिसरलाई साझेदार बनाएर रकम उपलब्ध गराउन माघ २५ गते बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको थियो ।


सम्झौताबमोजिम महानगरको भौगोलिक क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचयन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा सांस्कृतिक एवं सम्पदा क्षेत्रहरुको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालीन आवागमन व्यवस्थापन, ट्राफिक जाम, अनैतिक गतिविधि नियन्त्रणजस्ता काममा सिसिटिभिबाट निगरानी गरिनेछ ।


लाई कार्यान्वयन गर्न महानगरको सूचना प्रविधि विभागका प्रमुखको संयोजकत्वमा नगर प्रहरी प्रमुख, सूचना प्रविधि शाखा प्रमुख र परिसरकातर्फबाट प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रतिनिधि एकजना, महानगरीय प्रहरी कार्यालयका प्रतिनिधि एकजना र प्रहरी कार्यालयमा कार्यरत तोकिएको कर्मचारी प्रतिनिधि एकजना गरी ६ जना पदाधिकारी रहने समितिको व्यवस्था गरिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex