काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोश्रो संस्करणको रुपमा गत बिहीबारदेखि शुरु भएको पाँच दिने महोत्सव सोमबार भव्यतापूर्वक सम्पन्न भएको छ ।
विश्वका विभिन्न ३१ राष्ट्रहरुका ६० वटा चलचित्रहरु बीच प्रतिस्पर्धात्मक प्रदर्शन भएको यसपालिको दोश्रो निफको अन्तिम दिन महोत्सवमा प्रदर्शित चलचित्रहरु मध्ये अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रहेका चलचित्रहरु मध्येबाट सिंगापुरको चलचित्र ए ल्याण्ड ईम्याजिन्ड ले उत्कृष्ट चलचित्रको पुरस्कारको रुपमा एक हजार डलर सहित गौतम बुद्ध अवार्ड प्रदान गरिएको छ ।
त्यसैगरी अन्तराष्ट्रिय प्रतिस्पर्धाका शर्ट फिल्म मध्ये उत्कृष्ट चलचित्रको रुपमा भारतको मीन आलाप चलचित्र लाई पाँचसय डलर सहित माउण्ट एभरेस्ट अवार्ड अवार्ड प्रदान गरिएको छ ।
नेपाली प्रतिस्पर्धा अन्तर्गतका चलचित्र मध्ये डाईंग क्याण्डल चलचित्रलाई उत्कृष्ट चलचित्रका रुपमा पचास हजार रुपैंया सहितको उत्कृष्ट चलचित्र पुरस्कार र नेपाली शर्ट फिल्म मध्ये एक उत्कृष्टका रुपमा सुपरमंक लाई पच्चीस हजार नगद सहित पुरस्कार प्रदान गरिएको छ ।
कथानक चलचित्र तर्फका उत्कृष्ट निर्देशक डाईंग क्याण्डलका नरेशकुमार के.सी. र उत्कृष्ट पटकथाकारका रुपमा पञ्चायत चलचित्रका शिवम् अधिकारी लाई पनि उत्कृष्ट पुरस्कार प्रदान गरीएको छ ।
पुरस्कार निर्णय गर्नकालागि नेपालका ख्यातिप्राप्त चलचित्रकर्मि नीर शाहको संयोजकत्वमा भारतका ख्यातिप्राप्त चलचित्रविद् प्रेमेन्द्र मजुमदार,चीनको बेजिङ्ग फिल्म एकेडेमीका प्रोफेसर ल्याङ्ग स्याओ र क्यान्स फिल्म फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच लगायततका निर्णायक समिती गठन गरिएको छ ।
सोमबार सम्पन्न समापन समारोहमा सम्मानीय उप प्रधान मन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलले पुरस्कृतहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
चलचित्र महोत्सव आयोजक समितीका अध्यक्ष के.पी.पाठकले नगद पुरस्कार प्रदान गरेका थिए । प्रमुख अतिथीको आसनबाट बोल्दै सम्माननीय पोखरेलले नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सवले नेपालको चलचित्रलाई विश्वव्यापी बनाउन सघाउनेमात्र नभई नेपालमा अन्तर्राष्ट्रिय चलचित्रबारे ज्ञान दिन पनि सघाउनेछ भन्ने विचार प्रकट गरे ।
सोही कार्यक्रममा छोटो कथा वाचन तर्फका पुरस्कार विजेताहरुलाई लघु चलचित्र बनाउनका लागि दिवस अमागाईको काशिनाथ र सजल लोप्चनको गाइड टु फिल्म फेस्टिभल नामक दुई वटा कथालाई रेड कार्पेट प्रा लि र नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानबाट जनही नगद चालिस हजार नगद अनुदान दिने कुराको घोषणा गरिएको छ ।
महोत्सवका ेअन्तिम दिन सोमबार विहान चीनको ख्याति प्राप्त कथानक चलचित्र अला चाङ्गसो प्रदर्शन गरिएको थियो भने नेपालभाषाका दुई छोटा चलचित्रहरु द मिथ जिरो र अस्तित्व का साथै लेबनानको द ब्लाईंड अफ क्याथेड्रल,टर्कीको द वीण्ड विल क्यारी अस अनि नेपाल र स्पेनको संयुक्त निर्माण रहेको द स्टेण्ड फ्लाएग , नेपाली भाषाका छोटा चलचित्रहरु सुपरमंक, मदर,तृष्णा का साथै जापानको क्याट डेज र बंगलादेशको ए लेटर अफ गड पनि देखाईएको थियो ।
विभिन्न विषयमा समुहगत बहसहरु पनि भईरहेको दोश्रो निफमा सोमबार चलचित्र र राजनिती बीचको अन्तर्सम्बन्ध बारे पनि बहस कार्यक्रम सम्पन्न भयो ।
सोमबार सम्पन्न समापन समारोहमा प्रथम नेपाली चलचित्र आमा की आमा को रुपमा अभिनय गरेकी चैत्यदेवी , नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुषमा राजभण्डारी लगायतको विशेष उपस्थिती रहेको थियो भने समापन समारोहमा आयोजक संस्थाका उपाध्यक्ष एवं निफ २०१९ को चलचित्र छनौट समिति संयोजक विजयरत्न तुलाधरले स्वागत मन्तव्य राखेका थिए भने आयोजक संस्थाका अध्यक्ष पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।
Categorized in मनोरन्जन