काठमाडौं । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ को दोश्रो दिन शुक्रवार तीन वटा नेपाली कथानक चलचित्रहरु निर्देशक नबराज बुढाथोकीको भुईमान्छे, निर्देशक शिवम् अधिकारीको पञ्चायत र निर्देशक छेतेन गुरुङ्गको डमरुको डण्डिबियो प्रदर्शन गरियो ।
कथाहरुको उत्सवको रुपमा आयोजना गरिएको यसपालिको महोत्सवमा विश्वका विभिन्न ३१ राष्ट्रहरुका कथानक र छोटा चलचित्रहरु देखाईंदैछ भने ती मध्ये आज चार वटा कथानक र १० वटा छोटा चलचित्रहरु प्रदर्शन सम्पन्न भएको छ ।
आज प्रर्दशित कथानक चलचित्रहरुमा बंगलादेशको कोमोला रकेट पनि छन् भने छोटा चलचित्रहरुमा श्रीलंकाको संग अफ ईनोसेण्ट, युकेको लिभ अ प्वाईण्ट, ईटलीको वन हण्डे«ड एअर,माल्टाको टोक्सीसिटी, रसियाको नाउ आई सि यु,ट्यनिसियाको कन्फेशन, बंगलादेशको अ लिटल रेड कार,ग्रिसको स्प्रींग टाइम रेस्ट,नेपालको मि भर्सेस माइन् र नाइजेरियाको हेलो रेन प्रदर्शन गरियो ।
यो महोत्सवमा विभिन्न विषयमा वहसहरु पनि हुनेछन् भने शुक्रबार चलचित्रमा नारी विषयक बहसमा अभिनेत्री एवं निर्देशक दिपाश्री निरौला र सञ्चारकर्मि एवं निर्देशक संगीता श्रेष्ठ सहभागिता जनाएका थिए भने महिला अधिकारवादी मन्दिरा ढुंगेलले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।
यस्तैगरी चलचित्रकालागि चूनौती बारेको बहसमा निर्माता एवं अभिनेता आकाश अधिकारी,निर्माता एवं अभिनेता रविन्द्रसिं बानिया,निर्देशक हेमराज बि.सि. सहभागि भएका थिए भने पत्रकार अशेष अधिकारीले सहजकर्ताको भुमिका निर्वाह गरे ।
यो महोत्सवको तेश्रो दिन शनिबार प्रसिद्ध अभिनेता , चलचित्र लेखक एवं निर्माता दीपकराज गिरीले आफ्नो कथा दर्शकहरुसंग बाँड्ने कार्यक्रम रहेको छ भने क्याराभान जस्तो नेपालको तर्फबाट ओस्कर अवार्ड मनोनयनमा समेत परेको विश्व प्रसिद्ध चलचित्र निर्देशक ईरिक भ्यालिले प्रमुख वक्ताको रुपमा रही आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ ।
यस्तै गरी भोलि नै नेपालकोलागि चलचित्र मार्फत पर्यटन विषयक बहस पनि हुनेछ भने यो बहसमा वरिष्ठ चलचित्रकर्मि यादव खरेल,पर्यटन बोर्डका सिइओ दिपकराज जोशी वक्तका रुपमा रहनेछ भने सहजकर्ता पर्यटन व्यवसायी राजन शिम्खडा रहनेछ ।
शनिबार मैथली संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र भोर को प्रदर्शन हुनेछ भने विभिन्न देशहरुका छोटा र कथानक चलचित्रहरु पनि प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।
यस्तै गरी यो चलचित्र महोत्सव आयोजना भईरहेको समारोह स्थलमा ललित कला पत्रकार समाजको तत्वावधानमा चित्रकला प्रदर्शनी भनि भईरहेको छ भने त्यो चित्रकला प्रदर्शनीमा केशव राज खनाल, दिबेश प्रधान, राकेशचन्द्र श्रेष्ठ, राहुल लामा , बिनोद गुप्ता लगायत पन्ध्र जना कलाकारहरु सहभागी छन् भने उनीहरुले चलचित्र महोत्सवमा प्रदर्शित चलचित्रहरुका आधारमा तत्काल चित्र कोर्ने काम पनि भईरहेको छ ।
Categorized in मनोरन्जन