काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबुर राउतले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साइकल वितरण कार्य शुरु गरिएको छ ।
सप्तरी जिल्लाको बलान विहुला गाउपालिकाका माध्यमिक तहका ७० जना छात्राहरुलाई साइकल उपलब्ध गराउदै मुख्यमन्त्री राउतले साइकल वितरण कार्यक्रमको शुभारम्भ गरेको हो ।
श्री जागेश्वर गरहाइ जनता मावि सेहरा बलान विहुलाको प्राङ्गणमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउत लगायत अतिथिहरुले छात्राहरुलाई साइकलको साँचो हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको समाजिक रुपान्तरणको पहिलो खुडकिलो रुपमा आफुहरुले बेटी पढाउ बेटीप बचाउ कार्यक्रमलाई अघि बढाई रहेको उल्लेख गरे ।
महिला शिक्षित नभए सम्म प्रदेशले समृद्धि हासिल गर्न नसक्ने उल्लेख गर्दै उनले समाजमा व्याप्त महिला संगको विभेद अन्त गर्न समेत यस कार्यक्रमले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीहरुको विमा गर्ने कार्य समेत शुरु भई सकेको उल्लेख भईसकेको जानकारी दिँदै मुख्यमन्त्री राउतले फागुन ९ गते राष्ट्रपति विद्या देवी भण्डारीको हात बाट विमा कार्यक्रमको औपचारिक शुरुवात गरिने जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षामन्त्री रेणु यादवले प्रदेश सरकारले एक पछि अर्काे गरि ल्याई रहेको कार्यक्रमहरुले प्रदेशवासीलाई आफनो सरकारको अनुभूति गराई रहेको बताए ।
उनले प्रदेश सरकारको बेटी पढाउ, बेटीबचाउ, मुख्यमन्त्री स्वच्छता अभियान जस्ता कार्यक्रमहरुले समाजको रुपान्तरणमा साकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सांसद यादवले मुख्यमन्त्री राउतको यस्ता कार्यक्रमहरु प्रदेश भित्र मात्र नभई मुलुक भरिनै चर्चाको विषय बनेको र अन्य प्रदेश तथा स्थानीय सरकारहरुले समेत अनुरण गरि रहेको भनाई राखे ।
बलान विहुला गा.पा.का अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपसभामुख उपमा देव, प्रदेश सभा सदस्य अभिषेक यादव, मुख्यसचिव दिपक सुवेदी सहितको उपस्थिति रहेको थियो ।
Categorized in समाज