काठमाडौं । काठमाडौं महानगरपालिकाले विपद् उद्धार तथा अग्नि नियन्त्रणको लागि एक हजार २८० दक्ष स्वयसेवक तयार गर्ने गृहकार्य गरिरहेको जनाएको छ ।
बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले यी जनशक्तिले बिपद पूर्व तयारी तथा प्रतिकार्यको काम गर्ने बताएका छन ।
संयोजक शाक्यका अनुसार घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महानगरले हरेक वडामा बिपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयम्सेवक तयार गर्ने तयारी थालेको छ ।
एउटा वडाबाट ४० जना स्वयम्सेवकलाई बिपद उद्धार तथा अग्नि नियन्त्रण सम्बन्धि ७ दिनको तालिम दिइनेछ र तालिम प्राप्त स्वयम्सेवकलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएर स्थानीय स्तरमा हुने घटनाको व्यवस्थापन गर्ने पहिलो प्रतिकार्य दस्ता बिकास गराउने शाक्यले भने । पहिलो चरणमा वडा ६, ७ र २१ बाट स्वयम्सेवक गठन भई नाम प्राप्त भएको जनाएको छ ।
महानगरले विपद् पूर्व तयारी तथा तत्काल राहत उद्धारमा काम गर्न महानगर आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिसकेको छ । राष्ट्रिय सभा गृहमा रहेको यस केन्द्रले अहिले अहिले वडा स्तरीय अग्नि नियन्त्रण सम्बन्धी सैद्धान्तिक तथा ब्यबहारिक तालिमसँगै प्राथमिक उपचार सम्बन्धी एक दिने अनुशिक्षण तालिम दिइरहेको छ ।
अहिले सम्म २० वटा वडाका पदाधिकारीलाई दिइसकिएको महानगरपालिकाले जनाएको छ ।
महानगरका सबै वडामा १४ सदस्यीय बिपद ब्यबस्थापन तथा नागरिक सुरक्षा समिति गठन भइसकेको छ । यस समितिमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व रहेको छ ।
Categorized in समाज