काठमाडौं । ललितपुरका एकसय ११ विद्यालयमा प्रहरी विद्यालय सम्पर्क समिति गठन भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सो समिति गठन गरिएको हो ।
सो कार्यक्रम नेपाल प्रहरी, अभिभावक, शिक्षक र विद्यार्थीलाई एउटै छातामुनि सङ्गठित गरी समाजमा घट्न सक्ने अपराध तथा सामाजिक विकृति र विसङ्गतिका बारेमा जनचेतना फैलाउन सञ्चालन गरिएको हो ।
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले माघ १६ देखि २५ गतेभित्र अन्य ६१ विद्यालयमा थप समिति गठन गरिने तयारी गरेको जनकारी दिए ।
हाल ललितपुरमा रहेका कूल ४६६ विद्यालयमध्ये ३५५ मा सो कार्यक्रम अन्तर्गत समिति गठन हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक चिमोरियाले बताए ।
बालबालिका समाजमा अपराधको उच्च जोखिममा परेका हुँदा विद्यालय केन्द्रित कार्यक्रम गठन गर्न अनिवार्य गरी अपराधलाई नियन्त्रण गर्ने अभ्यासमा लागिपरेका प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठले बताए ।
बालबालिकालाई अपराध र अपराधको शिकार हुनबाट जोगाउन, उनीहरुमा सामुदायिक सेवाको भाव अभिवृद्धि गराउन, उनीहरुलाई असल र जिम्मेवार नागरिक बनाउन सो कार्यक्रमले सहयोग पु¥याउने बताइएको छ ।
Categorized in समाज