काठमाडौं । काठमाडौं महानगरमा स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनको लागि २ वटा कार्यदल गठन भएको छ ।
महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजक्त्वमा बसेको अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समितिले सो कार्यदल गठन गरेको हो ।
महानगर प्रवक्ता एवम् १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलमा संयोजकत्वमा गठित कार्यदलमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले, राजस्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख बसन्त आचार्य र कानुन महाशाखाकी शाखा अधिकृत शरि वाग्ले सदस्य रहेको छन् ।
यस कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्नका लागि कार्यविधि तयार गर्नेछ ।
त्यसैगरी सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काफ्लेको संयोजकत्वमा गठित कार्यदलमा निर्देशक रविनमान श्रेष्ठ, इञ्जिनियरहरु निर्मलराज बराल, निशा कोइराला र प्रमिला पराजुली सदस्य रहेको छन् ।
यस कार्यदलले शौचालय निर्माणका लागि स्थान पहिचान गर्ने र स्थान अनुसारको डिजाइन प्रस्ताव गर्नेछ ।
त्यसैगरी नगर कार्यपालिकाको २८ औं बैठकले उपप्रमुख श्रेष्ठ खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको अधिकार सम्पन्न समिति गठन गरेको छ ।
यस समितिले सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्ने, उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन एकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने छ ।
Categorized in समाज