काठमाडौं । चोभारको स्थानीय वासिन्दाहरु विहिवार सुख्खा बन्दरगाह निर्माणको विरोध प्रदर्शनमा उत्रेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुख्खा बन्दरगाहको शिलान्यास गर्ने कार्यक्रम रहेको स्थालमा चोभार क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन ।
सो क्रममा प्रहरीले स्थानीय इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दिपक महर्जन, मिलन थापा लगायत २३ जना स्थानीयलाई नियन्त्रणमा लिई कालिमाटी प्रहरी बृत्तमा राखिएको चोभार संरक्षण समितिका एक सदस्यले जानकारी दिए ।
कीर्तिपुर नगरपालिका वडा नं ६ स्थित संचालनमा ल्याउन लागेको सुख्खा बन्दरगाहको विरोधमा स्थानीयवासी उत्रेपछि अहिले सो क्षेत्र तनाव रहेको छ ।
प्रदर्शनकारीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने योजनासहित स्थानीयबासी जुलुसहित कार्यक्रमस्थलमा पुगेका थिए ।
स्थानीयले बन्दरगाह बन्ने स्थानमा रहेको पुरानो हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पुर्याएको क्षतिको उचित राहत दिन सरकारसँग माग गरेका छन ।
त्यसैगरी चोभार क्षेत्रका रहेका सम्पदालाई बेवास्ता गर्दै बन्दरगाह निर्माण गर्न नहुने स्थानीयको माग रहेको छ ।
विगतमा हिमाल सिमेन्ट कारखाना र वातावरण संघर्ष समितिबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन ।
Categorized in समाज