काठमाडौं । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति विद्युत सर्ट भई आगलागी हुँदा तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ विकको सैलुन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको प्रवक्ता धामीले जानकारी दिए ।
नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
Categorized in समाज