काठमाडौँ । मानवअधिकारवादी नेता, वरिष्ठ पत्रकार तथा नेपाल भाषिक अगुवा मल्ल के. सुन्दरद्धारा लिखित उपन्यास ‘व लँपु थ्व पला’ (यो बाटो, त्यो पाईला ) यस बर्षको गँकी बसुन्धरा पुरस्कारबाट सम्मानित भएको छ ।
गँकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले मंगलवार आयोजित कार्यक्रममा नेपाल भाषामा लेखिएको सो उपन्यासका लागि मल्ललाई सो सम्मान जनकवि दुर्गालाल श्रेष्ठले प्रदान गरे ।
नेपाल भाषामा मल्लका दर्जनभन्दा बढी उपन्यास प्रकाशित भईसकेको छन । उनको राजनीतिक, मानवअधिकारसम्बन्धी समेत पुस्तकहरु प्रकासमा आएको छ ।
सो उपन्यासमा अहिंसा र विनय मैत्रीको ध्यानमा बसेर निर्वाण प्राप्त हुन्छ भन्ने विश्वासमा प्रतिबद्ध विश्रान्ती गुरुमाँ तथा सशस्त्र विद्रोहको माध्यमबाट वर्ग शत्रुलाई समाप्त गरी जनताको मुक्तिका लागि युद्ध लडिरहेका छापामार मुक्ता पात्र रहेको मल्लले ती दुई अलग्ग मुद्दालाई केन्द्रित गरिएको छ ।
त्यस्तै कार्यक्रममा जनगायक रामेश श्रेष्ठलाई धुस्वाँ सायमी सिर्जना सम्मानबाट सम्मानित गरियो । करीब पाँच दशकदेखि गीतसङ्गीतको माध्यमबाट जनजागरण ल्याउन महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
श्रेष्ठलाई पनि जनकवि श्रेष्ठले सो पुरस्कर प्रदान गरेका थिए ।
जनकवि श्रेष्ठले सो सम्मान कार्यक्रममा अहिलेको प्रदेश सरकारले नेपाल भाषाको विकासका लागि पहल गर्नुपर्ने पनि बताए ।
सम्मानित व्यक्तित्व मल्ल के. सुन्दरले राज्यले कुनै एक भाषा, धर्म, कला र संस्कृतिलाई मात्र राष्ट्रिय भाषा र संस्कृतिका रुपमा मान्यता दिन नहुने बताउँदै ‘मेरो आमाले बोल्ने भाषा मेरो समुदाय, समाजमा सम्मानित होस’ भन्ने अभिप्रायले आफूले नेपाल भाषामा उपन्यास लेखन कार्य शुरु गरेको धारणा व्यक्त गरे ।
अर्का सम्मानित व्यक्तित्व श्रेष्ठले आफूले देशका गरीब जनताको मुक्तिका लागि पाँच दशकदेखि गीत गाउँदै आएको उल्लेख गर्दै सबै गरीब नेपाली जनताको पक्षमा सरकारले काम गर्न नसकेकोमा दुःख व्यक्त गरे ।
प्रतिष्ठानका संरक्षक दीपक मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गँकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ डा अरुण सायमीले सामाजिक न्याय र समतामूलक विकास गर्न सकेमा मात्र जनताले प्रजातन्त्रको अनुभूति गर्न सक्ने बताए ।
नेपाल भाषाका उपन्यास सम्राट धुस्वाँ सायमी तथा श्रीमती वसुन्धरा सायमीको स्मृतिमा विसं २०४९ मा गँकी धुस्वाँ–वसुन्धरा पुरस्कार स्थापना भएको थियो ।
Categorized in समाज