काठमाडौँ । चालू आर्थिक बर्षमा महानगरीय ट्राफिक महाशाखाले सडक लेन अनुशासन पालना नगर्ने चौध हजार २३१ जना सावरी चालकलाई कार्वाही गरेको जनाएको छ ।
महाशाखाका अनुसार लेन अनुशासन पालना नगर्नेमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ ।
सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।
लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई रु ५०० जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ ।
विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारवाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारवाही गरी कक्षा लिइसकेको छ ।
Categorized in समाज