काठमाडौँ । नेवार समुदायका एक जाति उदाय सामाजको भृकुटीमण्डमा ‘तेस्रो बहृत उदाय भेला’ मा दीपङ्कर बुद्ध मुर्ति आकर्षणको केन्द्र बनेको छ ।
शनिवार आयोजित सो भेलामा नौ फिट उचाइको रहेका आठ बुद्ध मूर्तिमा दर्शकहरुको रुची देखिएको थियो । पञ्चदानका दिन प्रदर्शन गरिने प्राचीन बुद्ध मूर्तिमा पूजा गर्ने तथा मूर्ति अगाडि बसेर सेल्फी खिच्नेको घुइँचो लागेको थियो ।
शाक्यमुनि बुद्धको जन्म हुुनुभन्दा अगाडिका बुद्ध तथा दीपङ्कर तथागत, दीपङ्कर बुद्ध, दीपङ्कर तथागत सम्यकद्य, पञ्जराँद्योका ठूल्ठूला आठ मूर्ति प्रदर्शनमा राखिएका थिए । यसलाई ‘बहिद्यो’ पनि भनिन्छ ।
सो भेलाको अर्को आकर्षणमा उदाय जातिको विभिन्न पूजा तथा पर्वमा बौद्ध तथा हिन्दू परम्पराअनुसार देखाउँदै आएको प्याखँ (देव देवीको नाच) रहेको छ ।
काठमाडौँको न्यतमा बसोबास गर्ने न्यत तुलाधर समितिले वर्षेनी प्रदर्शन गर्ने श्री न्यतभलु अजिमाको नाच देखाइएको थियो ।
नेवारी परम्पराअनुसार हरेक वर्ष पाँहाचह्ेका दिन काठमाडौँका उदाय जातिले यो महाद्यो प्याखँ (महादेवको नृत्य) प्रदर्शन गर्ने परम्परा रहेको छ । यसमा गँ प्याखँ भनेर एक सेट देवदेवी नाच्ने गरिन्छ ।
त्यस्तै लोप हुँदै जान लागेको असनको कुम्हो प्याखँ पनि दर्शकको आकर्षणको केन्द्र बनेको छ । यस नृत्यमा बज्रयान बौद्धधर्मको शक्तिबाट तलेजु भवानीलाई रक्षा गर्ने दृष्य देखाइएको हुन्छ ।
रत्नकेतु बोधिसत्वका रुपमा रहने कुम्हो नृत्य गर्ने बालकले तलेजु भवानीलाई आकाशमार्गबाट आउने भयबाट रक्षा गर्दछ । त्यस्तै पातालबाट आउने भयबाट रक्षा गर्ने काम चन्द्रकेतु बोधिसत्वले गर्दछ भन्ने जन विश्वास रहेको छ ।
राजा जयप्रकाश मल्लको शासनकालमा अर्थात करीब ३०० वर्षदेखि यो प्याखँ देखाउँदै आएको भए पनि ३२ वर्षदेखि बन्द अवस्थामा रहेको आयोजकले बताएका छन ।
यो नृत्य (प्याख) त्यसबेला बौद्ध र हिन्दूबीच विवाद भएपछि यो विवाद समाधान गर्न कुम्हो प्याखँ देखाइएको समाजसेवी ज्ञानेन्द्र तुलाधरको भनाइ छ ।
उदाय समाजका अध्यक्ष एवं उद्योगपति डा रुपज्योति कंशाकारले नेवार समुदायको संस्कृति तथा धर्म आफ्नो मौलिक पहिचान भएको बताउँदै यसबाट नै हाम्रो चिनारी विश्वभर गरेको बताए ।
त्यसैगरी संस्थापक अध्यक्ष नानीभाइ तुलाधर तथा संरक्षक द्रब्यमानसिंह तुलाधरले नेपालको संस्कृतिलाई संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे।
समाजसेवी, पत्रकार एवं उदाय समाजका प्रचार विभाग प्रमुख सुगतरत्न सिन्दुराकारले उदाय जातिको परम्परागत पेशा लोप हुँदै गएको बताएका छन् ।
ताम्राकार, कंशाकार, तुलाधर, स्थापित, बनियाँ, सेलालिक, शीलाकार तथा सिख्राकार र सिन्दुराकार गरी नौ जातिमा विभाजीत उदाय जातिले नेपालमा तान्त्रिक पूजाका लागि देवीदेवताका लागि चाहिने क्वखँगा, धकिंगा र ग्वय्का (देवीका लागि चाहिने खास्तो) बनाउने पेशा भए पनि हाल यी काम बन्द भइसकेको बताइएको छ ।
Categorized in सम्पदा/संस्कृति