काठमाडौं । सप्तरीको बसाई नगरपालिका वडा नं. ७ स्थित बगबिरा टोलमा शनिवार राती आगलालागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ ।
गाईगोठबाट सल्केको आगो फैलिएर आगोले करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक आगो सल्किएको थियो ।
आगो फैलिएर निजको दुई घरका साथै छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेर नष्ट भएको हो ।
आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमति देवकुमारी दास घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंहले जानकारी दिए ।
प्रहरीका अनसार आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको छ ।
Categorized in समाज