काठमाडौं । सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गर्दैछ ।
आज पाँचथरको शहीद मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी गृहमन्त्री रामबहादुर थापा बादलले फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गर्नेछन ।
राष्ट्रिय परिचयपत्रका लागि यसअघि भण्डारीबाटै विवरण संकलन थालिएको थियो । सोमबार नै पाँचथरका थप ५० जनालाई पनि परिचयपत्र वितरण गर्ने तयारी गरएको छ ।
अहिले ‘राष्ट्रिय परिचय पत्र वितरणका लागि पाँचथरमा ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको अधिकारीहरुले जनाएको छ ।
सरकारले आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।
राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राईलगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने कार्यक्रम रहेको छ ।
आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभामा, प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाका नागरिकलाई पनि यही आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ ।
त्यसैगरी प्रदेश ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि विभागले यही वर्ष परिचयपत्र दिने गरी काम गरिरहेको जनाएको छ ।
Categorized in राष्ट्रिय