काठमाडौं । बोक्सीको आरोप लगाउने एक श्रीमानलाई कास्की जिल्ला अदालतले ६ महिना कैद सजाय सुनाएको छ ।
बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र रु पाँच हजार जरिवानाको सुनाएको छ ।
अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए ।
घरको अर्का एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजालाई बोक्सी भनेर झाँक्रीले नाम लिएपछि सन्तोषले श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गरेका थिए । सो घटनाका बारेमा प्रहरीमा उजुरी परेपछि प्रहरीले सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
उक्त अभियोगमा गत जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरुलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको हो । न्यायाधीश काजीबहादुर राईले उक्त मुद्दामाथि फैसाला गरेका हुन ।
Categorized in समाज