काठमाडौं । चालु आवको पहिले तीन महिना तीन बैंक कुमारी, एभरेष्ट र नेपाल बैंकले जारी गरेको त्रैमासिक विवरण अनुसार कुमारी बैंक नाफामा अग्रस्थानमा रहेको छ ।
एभरेष्ट बैंकको गत बर्षको तुलनामा नाफा घटेको छ भने नेपाल बैंकको नाफा नगन्य रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
कुरमारी बैंकले २५ करोड १० लाख रुपैयाँ नाफा गरेको हो । नयाँ एकाउन्टिङ (एनएफआरएस) अनुसार गणना गर्दा नाफा अझै १० करोडले बढ्छ ।
बैंकले साढे ४६ प्रतिशतले ऋण बिस्तार गरेर १२४ प्रतिशतले नाफा बढाएको छ । यो नाफा नियामकीय प्रावधान अनुसार निकालिएको हो ।
बैंकले निक्षेप ३२ प्रतिशतले बढाएर ७२ अर्ब ४९ करोड रुपैयाँ पु¥याएको छ भने ऋण लगानी साढे ४६ प्रतिशतले बढाएर ६७ अर्ब ८२ करोड रुपैयाँ पु¥याएको छ ।
बैंकको आधार ब्याज दर ११.१५ प्रतिशतबाट ११.०९ प्रतिशतमा झरेको छ । प्रति शेयर आम्दानी करिव २० रुपैयाँ छ ।
त्यसैगरी एभरेष्ट बैंकको नाफा भने घटेको छ । नियामकीय प्रावधान अनुसार बैंकको नाफा ७.७७ प्रतिशतले घटेको हो । बैंकले अघिल्लो असोजको तुलनामा अहिले ४९ करोड रुपैयाँ नाफा गरेको हो । तर एनएफआरएस अनुसार गणना गर्ने हो भने नाफा ६३ करोड पुग्छ । यसो हुँदा पोहोरको तुलनामा एनएफआरएस अनुसार बैंकको नाफा बढेको छ ।
बैंकको निक्षेप २१ प्रतिशतले बढेर १ खर्ब २० अर्ब नाघेको छ । ऋण लगानी पनि २६ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब पुगेको छ । बैंकको आधार दर ७.९१ प्रतिशतबाट बढेर ८.८० प्रतिशत पुगेको छ ।
नेपाल बैंकको नाफा भने बैंकको नाफा ७८ लाख ५७ हजार रुपैयाँले मात्र बढेको छ । बैंकको खुद ब्याज आम्दानी १.७२ प्रतिशतले घटेर एक अर्ब ३६ करोड रुपैयाँमा खुम्चिएको छ । यो तथ्यांक चालु बर्षको असोज मसान्तसम्मको हो । अघिल्लो बर्षको यसै अवधिसँग तुलना गर्दा बैंकको आम्दानी खुम्चिएको हो ।
बैंकले ऋण बिस्तार ७.२६ प्रतिशतले बढाउँदा पनि नाफा उक्लिन नसकेको हो । जबकी निक्षेप ०.७६ प्रतिशतले मात्र बढेको छ । बैंकको आधार दर ६.९० प्रतिशतबाट बढेर ७.५२ प्रतिशतमा उक्लिएको छ । बैंकको प्रति शेयर आम्दानी समेत घटेको छ ।
Categorized in बैंक