ललितपुरमा देखाइने विश्व प्रशिद्ध कार्तिक नाच आज सोमबारबाट शुरु भएको छ । आज बाथः प्याखं अन्तर्गतको ल्यवः कायेगु प्रस्तुतिसँगै यसवर्षको कार्तिक नाच शुरु भएको हो ।
आजबाट शुरु भएको कार्तिक नाच आउँदो मंसीर ७ गतेसम्म ललितपुरको मंगलबजार कार्तिक डबलीमा निरन्तर प्रदर्शन हुनेछ । कार्तिक नाचको सर्वाधिक चर्चामा रहने प्रस्तुति नरसिंह अवतार भने आउँदो मंसीर ५ गते बुधबार देखाइने छ ।
यसैबीच गत २५ गते आइतबार कार्तिक नाचको नासः पूजा सम्पन्न भएको छ । नेवार समाजमा कला, कलाकारितासँग सम्बन्धित कुनै पनि कार्य शुरुवात गर्नुपूर्व नासःपूजा गर्ने परम्परा रहेको छ ।
नेपाल सम्वत ७६१ बाट सिद्धिनरसिंह मल्लले एक महिना प्रदर्शन गर्दै शुरुवात गराएको यो नाच हाल १२ दिन प्रदर्शन हुँदै आएको छ । हालसम्म अटुट रुपमा संचालन हुँदै आएको यो नाच ९० साल, ४५ साल अथवा ७२ सालको भूकम्पको समयमा रोकिएको छैन ।
‘हाल स्थानीय सरकारबाट उपलब्ध बजेटको हिसाबले त दुइ दिनमात्र प्रदर्शन गर्न सकिन्छ’ कार्तिक नाच प्रवन्ध समितिका उपाध्यक्ष प्रतापधर शर्माको भनाई छ, ‘तर हामीले अहिलेसम्म नरोकिएको संस्कृतिलाई किन रोक्ने भनेर जसोतसो निरन्तर गरिरहेका छौं । तर यस्तै अवस्था रहने हो भने यो नाचको भविष्य छैन ।’
विगतमा एक लाख रुपैयाँ बजेट उपलब्ध हुँदै आएको यस नाचको लागी गत वर्ष दुइ लाख रुपैयाँ बजेट उपलब्ध भएको प्रतापधरले बताउनुभयो । यो नाचलाई व्यवस्थित ढंगले संचालन गर्ने हो भने करीब १५ लाख रुपैयाँ आवश्यक पर्ने उहाँको भनाई छ ।
Categorized in समाज