काठमाडौं । प्रदेश एकका ७० गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिने भएको छ ।
प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको हो ।
विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको हो ।
पहिलो चरणमा झापाको कमल गाउँपालिका, उदयपुरको विकट गाउँपालिका र भोजपुरको आमचोक गाउँपालिकालाई छनोट गर्ने तयारी भइरहेको जनएको छ ।
सो मन्त्रालयका अनुसार सडक पहुँच भएका गाउँपालिकालाई प्रदेश सरकारको लोगो अङ्कित एउटै रङ्गका एम्बुलेन्स वितरण गर्न लागिएको हो ।
आन्तरिक मामिला तथा कानूनमन्त्रीको सचिवालयका रवि खनालका अनुसार पाँच बर्षभित्र सबै गाउँपालिकालाई एम्बुलेन्स उपलव्ध गराउने भएको छ ।
एम्बुलेन्सका लागि प्रदेश सरकारले रु १२ करोड विनियोजन गरेको छ । एम्बुलेन्स वितरणसँगै सुरक्षाका पूर्वाधार तयार गर्न बारुणयन्त्र, प्राथामिक उपचारका सामाग्रीलगायत प्राकृतिक विपत्त पर्दा आवश्यक सामाग्री वितरण गरिने आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।
Categorized in समाज