काठमाडौं । काठमाडौं महानगरको सुरक्षा व्यवस्थालाई बलियो बनाउन महानगरपालिको एक हजार ८ सय स्थानमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।
नेपाल प्रहरीसँगको सहकार्यमा महानगरपालिकले दशैं लगत्तै सिसी क्यामेरा जडान गर्ने भएको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकरी दिए ।
सिसी क्यामेरा जडानको लागि कामपा र प्रहरीविच एक कार्यदल समेत गठन भएको महाशाखा प्रमुख काफ्ले बताए । अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको रहेको छ ।
त्यसैगरी, फोहोर संकलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहोर संकलन गरेकी गरेनन भन्नेबारे जानकारी लिने र नगरेमा कारबाही गर्न सजिलो हुने विश्वास गरिएको छ ।
त्यस्तै, सर्वसाधारणले पनि जथाभावी फोहोर फालेका छन की छैनन भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो ।
सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ ।
यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करिब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ ।
सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत यस कार्यलाइ अघि बढाइने कामपाले जनाएको छ ।
Categorized in समाज