काठमाडौं । भक्तपुर र काभ्रेको दुई नगरपालिकाले नागरकोट प्रवेशमा कर लिन थालेपछि पर्यटक दोहोरो मारमा परेको छ ।
अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा परिचित नगरकोट प्रेवशको लागि भक्तपुरको भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाको रुट प्रयोग गर्नुपर्ने हुन्छ ।
दुवै नगरपलिकाविच करको विषयमा समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउँदा दोहोरो मारमा विदेशी पर्यटक परेका हुन ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४/०७५ मा रु ५१ लाखमा नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएको छ ।
त्यसैगरी चाँगुनारायण नगरपालिकाले आव २०७५÷०७६ को लागि रु तीन करोड २५ लाखमा ठेक्का दिएको छ ।
चाँगुनारायण नगरपालिका–६ तेलकोट र वडा नम्बर ८ को कलमसीमा बसेर पर्यटकसँग शुल्क लिँदै आएका छन । जसमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर जानेबाटोमा समेत ठेकेदारले शुल्क उठाइरहेका छन ।
यस विषयमा चाँगुनारायणका नगरप्रमुख सोम मिश्रले नगरकोटको विकासमा दुई नगरपालिकाबीच समन्वय गरेर अघि बढ्ने बताउँदै पर्यटकलाई दोहोरो करको मारमा नपार्ने व्यवस्थाका लागि छलफल गरिने बताउनुभयो ।
यता काभ्रेको मण्डन देउपुर नगरपालिकाले पनि चालू आवबाट नगरकोट जाने पर्यटकसँग प्रवेश शुल्क लिने सूचना जारी गरेको छ । नगरपालिकाले २०७५/७६ का लागि नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यूटावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकसँग प्रवेश शुल्क उठाउने ठेक्का आह्वान गरेको छ ।
उक्त सूचनामा बोलपत्र स्वीकृत भएका फर्म वा कम्पनीले सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति रु ३०० र सार्क राष्ट्रभित्रका रु २०० (कर बाहेक) प्रति पर्यटक प्रवेश सेवा शुल्क उठाउन पाउने छन ।
काभ्रेको मण्डन देउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाले भूगोलको हिसाबले नगरकोट आउने ८० प्रतिशत पर्यटक काभ्रे मण्डन देउपुर प्रवेश गर्ने बताउँदै नगरकोटमा बसपार्क निर्माण, सार्वजनिक शौचालय निर्माण र अन्य पूर्वाधार विकासका लागि दुवै नगरपालिकाले लगानी गर्नभन्दा चाँगुनारायणले नमानेको बताए ।
यता, पर्यटन व्यवसायी तथा तत्कालिन वालुपाटी देउपरका अध्यक्ष राधाकृष्ण बस्ताकोटल दोहोरो कर लगाउँदा नगरकोटको भविष्य नै अन्योल हुने बताउँदै दुवै नगरपालिकाबीच समन्वय गरेर एकीकृत कर लगाएर नगरकोटको भौतिक विकासको लागि लगानी गर्नुपर्ने बताए ।
Categorized in सम्पदा/संस्कृति