२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

इन्द्रजात्रा एक, दर्जन आख्यान अनेक


प्रकाशित: शुक्रवार, १२ भाद्र २०७५, ०८ः००
- पदम श्रेष्ठ 

काठमाडौं । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका कालभैरव अगाडि यःसिं (इन्द्रध्वज) उठाएपछि आश्विनकृष्ण चतुर्थीसम्म काठमाडौंमा मनाइने इन्द्रजात्रालाई उपत्यकावासीहरु यलम्बर जात्रा येंयाः अर्थात् काठमाडौं नगरको उद्घाटन भएको दिन मान्दछन् ।


कलिगत संवत् ३८२५ (वि.सं. ७८१) मा राजा गुणकामदेवले पचलीलाई बिँड र म्हय्पीलाई मञ्जुश्री खड्गको टुप्पो हुने गरी देशको चारैतिर अष्टमातृका पीठ विराजमान गराई येंगा हिटीनेर उद्घाटन गरेको विश्वास गरिन्छ यस दिन । 


अर्को आख्यानअनुसार किराँती राजा यलम्बर पाँच हजार वर्षअघि भारतको कुरुक्षेत्रमा भएको महाभारत युद्ध हेर्न जाँदा कौरव र पाण्डवमध्ये जुन पक्ष हार्छ उसैको पक्षमा लड्ने बताएछन् ।


यस्तो भएमा युद्ध कहिल्यै अन्त्य नहुने देखेर छली कृष्णले छल गरी यलम्बरको टाउको दुई टुक्रा हुने गरी काटिदिए । 


यही दिनको स्मरणमा प्रत्येक वर्ष यहाँ आजुद्यो (आकाशभैरव)को शिर र अर्कोतर्फ बाकाद्यो (आजुद्योको साथी) तान्त्रिक पूजासहति सार्वजनिक प्रदर्शनमा राख्ने परम्परा छ । 


इन्द्रध्वजोत्थानकै दिनदेखि काठमाडौं, ललितपुर, भक्तपुरलगायतका नेवार बस्तीहरूमा हाथुद्यो (भैरव)लगायत देवी–देवता, दलुमत आदि सार्वजनिक रूपमा प्रदर्शन गर्ने गरिन्छ । 


यसै दिनदेखि हल्चोक स्वयम्भूको सवः भक्कु, किलागलबाट पुलुकिसी (तानाकिसी), मजिपातबाट मजिपाः लाखे, कुम्हाननीको कुम्हो प्याखँ, किलागलको दी प्याखं (देवी नृत्य), भक्तपुरबाट महाकाली प्याखं गणनृत्य र माकः प्याखं र त्रिपुरेश्वरको दश अवतार झाँकी इन्द्रजात्रामा सार्वजनिक प्रदर्शन गरिन्छ  भने पाटनको च्यासल फल्चामा नेपालको सबैभन्दा प्राचीन ँचलचित्र’ झ्यालिँचा मञ्चन गरिन्छ ।

 

 

 

                                                           
उपाकू बनेगु ः

भाद्रशुक्ल द्वादशी (यँलाथ्व द्वादशी) अर्थात् इन्द्रध्वजोत्थानकै दिन साँझ मृतकका नाउँमा बाटोभर धूप–दीप (पाल्चा) बाल्दै देवी–देवतालाई धूप, अक्षता, नगद चढाउँदै ‘उपाकू परिक्रमा’ गर्ने गरिन्छ ।                                                                                                      
इन्द्रजात्रा आख्यान   ः  


लिच्छविकालीन अभिलेखमा इन्द्रजात्रामा मल्लकालसम्म चिकंमुगलस्थित अट्कोनारायणअगाडि इन्द्रध्वज उठाएपछि शुरू हुने परम्परालाई राजा प्रतापसिंह शाहले ने.सं. ८९५ मा तिब्बतलाई हराएको खुसीयालीमा हनुमानढोका कालभैरवअगाडि ठड्याउन थालेको कथन छ । तर इन्द्रजात्राको अर्को प्रचलित आख्यानमा भने स्वर्गका राजा इन्द्रले आफ्नी आमा  दागीँका लागि तीज व्रत बस्न मरु ख्योकेव (मरुटोलस्थित भगवतीबारी)मा पारिजातको फूल चोरिरहेको देखि ज्यापूले पक्री दुई हातखुट्टा बाँधी सार्वजनिक बेइज्जत गरेदेखि इन्द्रजात्रा पर्वको शुरूआत भएको उल्लेख गरिएको छ ।

                                                                   
जीवित देवी कुमारीको रथयात्रा ः                                                                                                            

मातृसत्तात्मक नेवार समुदायको प्रतीक जीवित देवी कुमारी, भैरव र गणेश रथारोहण नै इन्द्रजात्राको प्रमुख आकर्षण मानिन्छ । येंयाः पून्हीका नाउँमा प्रख्यात यस दिन नेवार समुदायका घर–घरमा छ्वयला (पोलेको मासु), अदुवा, लसुन, कालो भटमास, समयबजी   (स्याबजी–चिउरा) बाँड्ने र ‘ला छकू वय्क समयबजी बल–बल पुलुकिसी’ भन्दै माग्न जाने परम्परा छ भने वसन्तपुर गद्दी बैठकमा राष्ट्रप्रमुख, विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका व्यक्तिहरूको उपस्थितिमा श्रीकुमारीको भव्य रथारोहण तथा पञ्चबुद्ध मजिपाः लाखे, सवः भक्कु आदिको झाँकी प्रदर्शन गरिन्छ । सत्ययुगको कुरा हो, राजा त्रैलोक्य मल्ल र तलेजु भवानीबीच पासा खेल्दै राज्यसम्बन्धी सञ्चालनका बारे कालो पर्दाले छेकी वार्ता भइरहेको बेला राजाको मनमा पाप चित्त उत्पन्न भएछ । उक्त कुरा थाहा पाएकी देवी तलेजु भवानीले अबदेखि शाक्य थरकी कन्याको जीउमा मात्र आफू प्रकट हुने र उनैसँग सल्लाह लिनू भनी उपदेश दिँदै अलप भइछन् । त्यसै बेलादेखि जीवित देवी कुमारीसँग राज्यप्रमुखले इन्द्रजात्राका बेला टीका लगाउन जाने परम्परा चलेको र यदि राज्यप्रमुख कुमारीघर वसन्तपुर नपुगी अपमान गरे राज्य स्थिर नरहने विश्वास गरिन्छ । अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई कुमारीले अब तिम्रो राज्य गर्ने शक्ति सकियो, राज्यसत्ता बचाइराख्न कुमारी रथारोहण गराउनू भन्ने उपदेश दिएमुताबिक ने.सं.८७६ देखि रथारोहण प्रारम्भ भएको मानिन्छ । ने.सं.८८८मा गोर्खाका राजा पृथ्वीनारायण शाहले यसै दिन कुमारी रथारोहणमा मस्त नेवारहरूमाथि सांघातिक हमला गरी नेपालमण्डल आफ्नो अधीनमा लिएका थिए तर पृथ्वीनारायण शाहले नेवार अस्तित्वलाई आत्मसात् गर्ने भनी मौखिक सहमति जनाएका थिए ।त्यसपछि गुठी सम्पत्ति आफ्नै खानदानी चङ्गुलमा राखी जात्रा–पर्वका लागि दक्षिणा दिने परम्परालाई उनले निरन्तरता दिएका थिए ।

 

कुमारी रथारोहणबारे प्रसिद्ध आख्यान ः                                                                                                 
पचलीभैरव र ङेत अजिमाँ (नरदेवी)को राज्य चलिरहेको बेला अनि बलियो दैत्यले आक्रमण गरी अष्टमातृका गण र भैरवहरू सबैलाई हराइदिएछ तर दैत्यको कुमारीसँग प्रेम सम्बन्ध थियो । माता–पिता र राष्ट्रलाई धरापमा पारी आफूसँग विवाह गर्न चाहने दैत्यसँग कुमारी सहमत हुन सकिनन् । अन्त्यमा छल गरी कुमारीद्वारा राष्ट्रघाती एवम् माता–पिताका दुश्मनलाई वध गरी आफू आजीवन कुमारी नै रहने प्रतिज्ञा गरिन् । यही त्यागको सम्मानस्वरूप रथारोहण गरिएको दबू प्याखं (डबली नृत्य) गणनृत्य जोशी देगलमा प्रत्येक वर्ष प्रदर्शन गरिन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex