४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दीप्याखंका लागी एकैदिनमा २० लाख संकलित


प्रकाशित: २०७५ असोज ७ आइतवार
- करुण

नेपालको पहिचान बनेको यहाँका मूर्त अमूर्त संस्कृति र सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जनप्रतिनिधीहरुले जोड दिएका छन् । ईन्द्रजात्राको क्रममा काठमाडौंको किलागलबाट निकालिने दीप्याखं र यसको आगमघरको संरक्षणको सम्बन्धमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा उपस्थित जनप्रतिनिधीले यहाँको स्थानीय संस्कृति, सम्पदाको संरक्षणमा एकजुट हुने प्रतिवद्धता जनाएका हुन् ।
 

कार्यक्रममा शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीले दीप्याखंको ऐतिहासिक र सांस्कृतिक पक्षको बारेमा उजागर गर्नुभयो । काठमाडौं उपत्यकामा प्रदर्शन गरीने दीप्याखं लगायतका विभिन्न देवी नाचहरुले सभ्य र सुसंस्कृत समाज निर्माणको लागी नैतिक शिक्षा समेत दिने भएकोले यसको महत्व यूवा पुस्तालाई बुझाउनुपर्ने डा. जोशीको भनाई थियो ।
 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वर्तमान समयमा संस्कृति र सम्पदामाथि राजनीतिकरण भइरहेको भन्दै यसको संरक्षणको लागि राजनैतीक भावनाभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो । ‘स्थानीय संस्कृति, सम्पदाको लागी धेरै गर्ने इच्छा पनि छ, योजना पनि छ । तर जब योजना कार्यान्वयनका लागी कार्यक्षेत्रमा लागीन्छ, दलीय भावनाले प्रेरीत भएकाहरुले अदालतमा उजुरी हालेर बाटो रोकिदिन्छन् अनि मेयरले केही गरेन भनेर हल्ला गर्छन्’ प्रमुख शाक्यले गुनासो गर्नुभयो ‘यहाँका सबै संस्कृति, सम्पदा आफ्नै हो भनेर बुझेर यसको संरक्षणका लागी सबै एकजुट भएर सहकार्य गर्न पनि सक्नुपर्छ । दीप्याखं, यसको आगमघर लगायत यहाँको स्थानीय संस्कृति सम्पदा संरक्षणको लागी काठमाडौं महानगरपालिकाबाट कुनै कसर बाँकि राखिनेछैन ।’ 
 

त्यसैगरी सांसद् रामबीर मानन्धरले यहाँका स्थानीय संस्कृति, सम्पदाको संरक्षणका लागी आफुले सांसद्हरुको सञ्जालको विकास गर्ने योजनामा आफु तल्लीन रहेको बताउनुभयो । संस्कृतिको संरक्षण हुन सके समुदायको पनि संरक्षण हुनेमा जोड दिँदै सांसद् मानन्धरले स्थानीय संस्कृतिको संरक्षणका लागी समुदाय नै एकजुट हुनुपर्ने बताउनुभयो । साथमा दीप्याखंको कोषको लागी मानन्धरले व्यक्तिगत रुपमा रु.५० हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।
 

‘अब यहाँको स्थानीय जनताले देउता बोक्ने होइन, देश बोक्नुपर्छ । देउताको रथ तान्ने होइन, देशलाई तान्नुपर्छ । अनि यहाँको स्थानीय संस्कृतिको संरक्षण पनि स्वतः हुन्छ’ पूर्व राज्यमन्त्री तीर्थराम डंगोलले भन्नुभयो ।
 

सोही कार्यक्रमबाट दीप्याखं र यसको आगमघरको संरक्षण, सम्वद्र्धनका लागी आर्थिक सहयोग पनि शुरु गरीएको छ । कार्यक्रममा उपस्थित जनप्रतिनिधीहरु, संस्कृतिप्रेमी सर्वसाधारणको तर्फबाट रु.२० लाख आर्थिक सहयोग संकलन भएको जानकारी कार्यक्रममा दिइएको थियो । यसलाई बढाउँदै लग्ने यसै रकमबाट दीप्याखंको आगमघरको जिर्णोद्धार गरिने साथै दीप्याखंको दीगो व्यवस्थापनका लागी योजना तर्जुमा गर्ने दीप्याखं (देवी नाच) प्रवद्र्धन तथा संरक्षण समितिले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex