४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भक्तपुरको ईतिहास, सम्पदा र संस्कृतिसँग सम्बन्धित दुइ पुस्तक सार्वजनिक


प्रकाशित: २०७५ असोज ३ बुधबार
- करुण

संचारकर्मी साथै साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति ‘अलकापुरी भक्तपुर’ र संस्कृतिविद् ओम धौभडेलको ‘भक्तपुर दरवारका मल्लकालिन भारदारहरु’ नामक दुई कृति बुधवार सार्वजनिक गरिएको छ । भक्तपुरको सुर्यविनायकमा सम्पन्न कार्यक्रममा दुबै कृतिहरु एकसाथ सार्वजनिक भएको हो । 
 

दुवै पुस्तकको लोकार्पण पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः र रिष्ठ समालोचक डा. देवीप्रसाद सुवेदीले संयुक्त रुपमा गर्नुभयो ।
 

आफ्नो आठौं कृतिको लोकार्पण कार्यक्रममा कृतिकार जितेन्द्र रसिकले अलकापुरी भक्तपुरमा हिन्दु, बौद्ध, मुस्लिम लगायत सबै सम्पदा र संस्कृति समेटेको बताउनु भयो । भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यो कृतिले यहाँका संस्कृतिका विषयमा जान्न चाहनेका लागि सघाउने र भक्तपुरका मठ मन्दिर जात्रा, संस्कृति, इतिहास, समाजबारे जान्न सहज हुने अपेक्षा गरेको रसिकको भनाई छ । 
 

भक्तपुरका मल्लकालिन भारदार कृतिका लेखक ओमप्रसाद धौभडेलले मल्लकालिन समयमा भारदारहरुको योगदान, भक्तपुरको संस्कृति, सम्पदा निर्माणदेखि विकास सम्मका विषयवस्तु बारे कृतिबाट जानकारी लिनसकिने बताउनुभयो । साथमा संस्कृतिविद् धौभडेलले आफ्नो कृतिले मल्लकालीन भारदारहरुका सन्ततीलाई आफ्नो पूर्खालाई चिन्न र पूर्खाको योगदानको बारे जानकारी लिन सघाउने बताउनुभयो ।
 

पुरातत्व विभागका महानिर्देशक दाहाल, संस्कृतिविद् ग्वंगः र वरिष्ठ समालोचक डा. सुवेदीले प्रकाशित दुवै कृतिले भक्तपुरलाई हेर्ने नजरमा परिवर्तन ल्याउनेमा जोड दिनुभयो । महानिर्देशक दाहालले त विभागले पुरा गर्न नसकेको काम लेखक रसिक र धौभडेलले गरेको समेत बताउनुभयो ।
 

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले हालसम्म प्रकाशित भक्तपुर सम्बन्धी सबै पुस्तकहरुमा मण्डपशैलीका मन्दिरलाई प्यागोडा लेख्दै आएकोमा भन्दै दुवै कृतिले चिरेर मण्डपशैलीका सम्पदाहरुका विषयमा स्पष्ट पारेको बताउनुभयो ।
 

वरिष्ठ समालोचक सुवेदीले स्थानिय लेखकद्वयको दुबै कृति मौलिक र यथार्थ विवरण, इतिहास र सम्पदाको नालीबेली भएको बताउनुभयो । 
 

कार्यक्रममा दुबै पुस्तकको प्रकाशनमा विभिन्न क्षेत्रबाट योगदान दिने सहयोगीहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रममा भक्तपुर विकास सहयोग समतिका निवर्तमान अध्यक्ष, कृष्णलाल प्रधान, भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकमी, कथाकार माया ठकुरी, प्राज्ञ मातृका पोखरेल, ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन लगायतको उपस्थिती थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex