काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सहायता, हवाई तथा रेल सम्पर्क, ऊर्जा, व्यापार, शिक्षा र पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति भएका छन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ (मंसिर ७ देखि ८) सम्म भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच सोमबार नयाँदिल्लीमा द्विपक्षीय वार्ता भएको हो ।
वार्तापछि जारी संयुक्त वक्तव्यमा नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरिएको छ ।
भारतले उपलब्ध गराउने सहायतामध्ये ३ हजार ५०० करोड भारतीय रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाका लागि अनुदान र ११ हजार ५०० करोड भारतीय रुपैयाँ ऊर्जा क्षेत्रका आयोजनाका लागि ऋण सुविधाका रूपमा उपलब्ध गराइनेछ ।
सहायता अन्तर्गतका आयोजना र कार्यान्वयन प्रक्रिया दुवै देशको आपसी परामर्शबाट टुंगो लगाइने जनाइएको छ ।
हवाई तथा रेल सम्पर्क विस्तार
भ्रमणका क्रममा लामो समयदेखि छलफलमा रहेका हवाई तथा रेल सम्पर्कका विषयमा पनि महत्वपूर्ण सहमति भएको छ। हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन्।
त्यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षण अन्तिम रूप दिइएको संयुक्त वक्तव्यमा उल्लेख छ। नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि पनि दुवै देशले सहकार्य गर्ने भएका छन ।
प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने घोषणा गरेका छन ।
आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा समेत पहुँच उपलब्ध गराइनेछ ।
यसैगरी, अयोध्या र जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा शुभारम्भ गरिएको छ। उक्त सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नुका साथै नेपाल–भारतबीचको सभ्यतागत सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रमा सहकार्य
ऊर्जा क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने क्रममा दुवै देशले जलविद्युत् आयोजनाको विकास र विद्युत् व्यापारलाई प्राथमिकता दिएका छन् ।
भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। साथै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन र आयोजना कार्यान्वयन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने काम तीव्र पार्न पनि दुवै पक्ष सहमत भएका छन ।
इनरुवा–नयाँ पूर्णिया तथा दोधारा–बरेली सीमापार विद्युत् प्रसारण लाइनका लागि संयुक्त उद्यम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति पनि सन्तोष व्यक्त गरिएको छ ।
पेट्रोलियम पूर्वाधार र सीमा सम्पर्क
नेपाल–भारतबीच पेट्रोलियम पूर्वाधार विस्तारका क्रममा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरिएको छ । झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्याससमेत गरिएको छ ।
सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य छिट्टै सुरु गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन् । ग्यास पाइपलाइन निर्माणको सम्भावना अध्ययन गर्ने सहमति पनि भएको छ ।
सीमा पूर्वाधारतर्फ बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा आईसीपी निर्माणको प्रगतिप्रति दुवै पक्षले स्वागत गरेका छन्। भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार पुलको उद्घाटनसमेत गरिएको छ ।
नेपालमा आईआईटी क्याम्पस स्थापना हुने
नेपालको शिक्षा तथा प्राविधिक जनशक्ति विकासका लागि भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को विदेशी क्याम्पस स्थापना गर्ने सहमति गरेको छ ।
यसले नेपालको उच्च शिक्षा क्षेत्रमा प्राविधिक ज्ञान र अनुसन्धानको विस्तार गर्नुका साथै रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
दुवै देशले स्टार्टअप, डिजिटल सेवा, वित्तीय सम्पर्क, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
सीमा विवाद समाधानमा पुरानै प्रतिबद्धता
नेपाल–भारतबीच समाधान हुन बाँकी सीमा विवादका विषयमा भने दुवै पक्षले पुरानै प्रतिबद्धता दोहोर्याएका छन ।
सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी विवाद समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम अघि बढाउन निर्देशन दिइएको छ ।
यसैगरी, नेपालमा विपद्पछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण प्रतिष्ठान, कृषि–औद्योगिक पार्क तथा उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाहरूको कार्यान्वयनमा भारतले सहयोग जारी राख्ने जनाएको छ ।
भ्रमणका क्रममा दुवै देशबीच आयुर्वेद, स्वास्थ्य, पशुपालन, मत्स्य विकास, सुदृढ सहरी विकास, प्रशासनिक क्षमता अभिवृद्धि, प्रहरी अनुसन्धान, रक्षा तथा अन्तरिक्ष प्रविधिसम्बन्धी आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् ।
प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने जनाइएको छ ।
संयुक्त वक्तव्यमा नेपाल–भारत साझेदारी गहिरो विश्वास, मित्रता, आपसी सम्मान र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीचको आर्थिक तथा विकास सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
Categorized in राष्ट्रिय