काठमाडौं । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउने क्रम मंसिर महिनामा पनि जारी राखेका छन ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको मंसिर महिनाको ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको तुलनामा ०.१०७ प्रतिशत बिन्दुले घटेको छ ।
कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.०१३ प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.९०६ प्रतिशत कायम भएको छ ।
पछिल्ला केही महिनादेखि नै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर निरन्तर घटिरहेको छ ।
साउनमा ४.१६७५ प्रतिशत रहेको यस्तो ब्याजदर भदौमा ४।१३६० प्रतिशत, असोजमा ४.०८९६ प्रतिशत र कात्तिकमा ४.०१३ प्रतिशत रहेको थियो ।
मंसिर महिनाका लागि सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले पाँच वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा उक्त ब्याजदर उपलब्ध गराउने जनाएको छ ।
कात्तिकको तुलनामा मंसिरमा ६ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन ।
बैंकहरूले सामान्यतया छोटो अवधिको मुद्दती निक्षेपमा कम र लामो अवधिको निक्षेपमा केही बढी ब्याजदर दिने गरेका छन ।
व्यक्तिगत मुद्दती निक्षेपमा सार्वजनिक हुने अधिकतम ब्याजदर प्रायः लामो अवधिको निक्षेपमा लागू हुने दर हो ।
यसैबीच, पहिले नै लामो अवधिका लागि मुद्दती खाता खोलेका निक्षेपकर्ताले खाता खोल्दा तय भएको सर्तअनुसार ब्याज पाउनेछन् । मंसिरमा नयाँ खोलिने तथा अवधि समाप्त भएर नवीकरण हुने मुद्दती निक्षेपमा भने नयाँ ब्याजदर लागू हुनेछ ।
व्याजदर चार्टः एआईबाट

Categorized in बैंक