काठमाडौं । उदाउँदै गरेको सूर्यलाई सोमबार बिहान अघ्र्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न भएको छ ।
आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्वको समापन गरेका हुन ।
काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा पोखरीहरूमा समेत व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन । उपत्यकाका विभिन्न स्थानमा छठ पर्व उल्लासमय वातावरणमा मनाइएको छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने छठ पर्व तराई–मधेशवासीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो ।
छठ पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति मिल्नुका साथै सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
२०४६ सालअघि तराई–मधेशका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्वले पछिल्लो समय राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा छठ पर्व श्रद्धा र उल्लासका साथ मनाउने गरिन्छ ।
छठ पर्वको अवसरमा सरकारले यस वर्ष सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।
तस्वीरहरुः OK and NPL
Categorized in सम्पदा/संस्कृति