काठमाडौं । काठमाडौं फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा आयोजित १० किलोमिटर हेरिटेज रन (सम्पदा दौड) मा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता बनेका छन ।
काठमाडौं महानगरपालिका र एनएसआर स्पोट्र्स फाउन्डेसन (काठमाडौं म्याराथन) को सहकार्यमा शनिबार बिहान आयोजित दौडमा कृतिकाले ५१ मिनेट ५८.५ सेकेन्ड र सलमानले ३८ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितेका हुन ।
महिलातर्फ जेनिशा राई ५४ मिनेट २३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र निशा महर्जन ५८ मिनेट २५.८ सेकेन्डसहित तेस्रो भइन ।
पुरुषतर्फ समीर कन्दङ्वा ४० मिनेट २५.८ सेकेन्डसहित दोस्रो र सुरज शाही ४४ मिनेट २२८ सेकेन्डसहित तेस्रो भए।
विजेतालाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पुरस्कार प्रदान गरिन्। महिला र पुरुष दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
सम्पदा दौडमा १५२ महिला र ५५२ पुरुष गरी ७०४ जनाले नाम दर्ता गराएका थिए । तीमध्ये निर्धारित समयभित्र दर्ता भएका ५५० जना प्रतिस्पर्धामा सहभागी भएका आयोजकले जनाएको छ ।
बिहान ६ बजे वसन्तपुर डबलीबाट सुरु भएको दौड इन्द्रचोक, असन, जमल, दरबारमार्ग, नारायणहिटी संग्रहालय क्षेत्र, नक्साल, हाँडीगाउँ, मालीगाउँ, सिफल, जयबागेश्वरी, गौशाला, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, भद्रकाली, सहिदगेट, धरहरा र न्युरोड हुँदै पुनः वसन्तपुरमै पुगेर सम्पन्न भएको थियो ।
दौडले काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ५, ७, ८, ९, ११, २२, २३, २४, २७, २८, २९ र ३० गरी १३ वटा वडा समेटेको थियो ।
काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुँदैछ । फेस्टिभलमा युथ च्यालेन्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र, लघुचलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। फेस्टिभलमा रेड कार्पेट, मास्टर क्लास, प्यानल छलफल र अवार्ड वितरणलगायत कार्यक्रमसमेत सञ्चालन हुनेछन ।
Categorized in स्वास्थ्य