ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष सुशन महर्जन र महासचिव भूमिनन्दन कर्माचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।
संघको ४७औँ साधारणसभा तथा निर्वाचन आगामी असोज २३ र २४ गते गर्ने निर्णय भएसँगै दुवैले आ–आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
वर्तमान वरिष्ठ उपाध्यक्ष महर्जनले संघमा लामो समयदेखि सक्रिय रहँदै हासिल गरेको संस्थागत अनुभवलाई आफ्नो उम्मेदवारीको आधार बनाएका छन् । उनी यसअघि संघको उपाध्यक्ष तथा कार्यसमिति सदस्यको जिम्मेवारीमा रहिसकेका छन् भने नेपाल उद्योग वाणिज्य महासंघको समिति सदस्यसमेत भइसकेका छन ।
महर्जनले उद्योगी–व्यवसायीका समस्या तथा निजी क्षेत्रको आवाजलाई संघ, प्रदेश र स्थानीय सरकारका साथै नेपाल उद्योग वाणिज्य महासंघसम्म प्रभावकारी रूपमा पुर्याएर व्यावहारिक समाधान खोज्ने आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन ।
‘संघमा आबद्ध सम्पूर्ण उद्योगी–व्यवसायी साथीहरूको माया, साथ र विश्वास प्राप्त हुनेमा म पूर्ण रूपमा विश्वस्त छु,’ उनले भने, ‘निजी क्षेत्रका समस्या र आवाजलाई तीनवटै तहका सरकारका साथै छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघसम्म सशक्त रूपमा पुर्याएर व्यावहारिक समाधान खोज्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’
महर्जन सफल उद्यमीका रूपमा समेत परिचित छन । उनी महालक्ष्मी ह्युमपाइप उद्योगका प्रबन्ध निर्देशक हुन्। त्यसैगरी महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज, हिमालय क्राफ्ट, महालक्ष्मी मोटर्स, सुसन कन्स्ट्रक्सन र प्रिकास्ट कन्क्रिट सोलुसन नेपाललगायत विभिन्न व्यावसायिक प्रतिष्ठानमा आबद्ध छन ।
यस्तै, महासचिव कर्माचार्यले पनि संघमा लामो समयदेखि गरेको संस्थागत काम र महासचिवका रूपमा प्राप्त अनुभवलाई अध्यक्ष पदको उम्मेदवारीको आधार बनाएका छन् ।
२०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध कर्माचार्य तीनपटक कार्यसमिति सदस्य, सामाजिक सेवा समितिका संयोजक र कोषाध्यक्ष हुँदै महासचिवको जिम्मेवारीमा पुगेका हुन ।
‘महासचिवको दायित्व निर्वाह गर्दै गर्दा मैले संघलाई अझ नजिकबाट चिन्ने र बुझ्ने मौका पाएँ। यसले अध्यक्ष भएर काम गर्ने आत्मविश्वास बढाएपछि उम्मेदवारी दिने घोषणा गरेको हुँ,’ कर्माचार्यले भने ।
उनले निजी क्षेत्रको आवाजलाई तीनवटै तहका सरकारसम्म सशक्त रूपमा पुर्याउने, उद्योगी–व्यवसायीको हकहित तथा व्यावसायिक सुरक्षालाई प्राथमिकता दिने र संघको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन ।
महर्जनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुनील शाक्य ‘हान्ताई’, उपाध्यक्ष (उद्योग) मा रमेशसिं महर्जन, उपाध्यक्ष (वाणिज्य) मा महेश श्रेष्ठ, उपाध्यक्ष (संस्थागत) मा पूर्णबहादुर महर्जन, महासचिवमा राजु महर्जन र कोषाध्यक्षमा प्रवीण ताम्रकारले उम्मेदवारी दिएका छन ।
त्यस्तै कर्माचार्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रुपकुमार शाक्य, उपाध्यक्ष (उद्योग) मा सजना श्रेष्ठ नेम्कुल, उपाध्यक्ष (वाणिज्य) मा सञ्जय अमात्य, उपाध्यक्ष (संस्थागत) मा सुविन बज्राचार्य, महासचिवमा मिलन शाक्य र कोषाध्यक्षमा शर्मिला जोशी श्रेष्ठ उम्मेदवार छन ।
यसैबीच वरिष्ठ उपाध्यक्षमा आपुलाल अवाले, उपाध्यक्ष (संस्थागत) मा कृष्णप्रसाद सञ्जेल र कोषाध्यक्षमा मुकुन्द महर्जनले पनि उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदमा दुई मुख्य उम्मेदवारसहित विभिन्न पदमा उम्मेदवारी घोषणा भएसँगै संघको आगामी निर्वाचनमा प्रतिस्पर्धा थप बहुपक्षीय बनेको छ ।
दुवै पक्षले उद्योगी–व्यवसायीका समस्या समाधान, निजी क्षेत्रको सुरक्षा तथा सरकारसँगको नीतिगत संवादलाई प्राथमिकतामा राखेका छन ।
आगामी निर्वाचनमा उम्मेदवारहरूले अघि सार्ने कार्ययोजना र संघका सदस्यबीचको समर्थनले नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ ।
Categorized in बजार