काठमाडौँ । येँया (इन्द्रजात्रा) अन्तर्गत जीवित देवीदेवताको रथयात्रा सुरु भएको छ ।
वसन्तपुरस्थित कुमारी घर अगाडिबाट जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवलाई रथारोहण गराई विधिवत् पूजा सम्पन्न गरेपछि रथयात्रा सुरु गरिएको हो ।
इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, सभामुख डोलप्रसाद (डीपी) अर्याल, उपसभामुख रुबीकुमारी ठाकुरलगायत विशिष्ट पदाधिकारी वसन्तपुर पुगेका थिए ।
कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शोविता गौतम तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गनेस) लगायत सहभागी थिए । जात्रामा सहभागी महिला मन्त्रीहरूले हाकुपटासी लगाएका थिए ।
विशिष्ट पदाधिकारीलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित जनप्रतिनिधि तथा विभागीय प्रमुखहरूले जुद्ध शालिक अगाडि स्वागत गरेका थिए । त्यसपछि उनीहरू पैदल गद्दी बैठक पुगेका थिए । विशिष्ट पदाधिकारीले गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गरेका थिए ।
महानगरपालिकाले जात्रा अवलोकनका लागि उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत आमन्त्रण गरेको थियो। कूटनीतिक क्षेत्रका पदाधिकारी, आमन्त्रित पाहुना, महानगरपालिकाका नगर सभा सदस्य तथा विभागीय प्रमुखका लागि माजु देगःमा जात्रा अवलोकनको व्यवस्था मिलाइएको थियो।
यस वर्ष भाद्र २८ गते ञलाथ्व द्वितीयाका दिन मानन्धर समुदायका गुठियारहरू यःसिं लिन वनतर्फ प्रस्थान गरेका थिए। सोही दिन साँझ ८ बजेर ४७ मिनेटको साइतमा वृक्षकर्तन गरिएको थियो। यःसिंलाई भाद्र २९ गते भोटाहिटी ल्याइएको थियो ।
आश्विन ३ गते ञलाथ्व कायाअष्टमीका दिन बिहान ८ बजेर ५ मिनेटको साइतमा यःसिं नगर प्रवेश गराइएको थियो। सोही दिनदेखि किलाघःमा दिःप्याखं अर्थात् देवी नाच सुरु भएको थियो।
एकादशीका दिन चसाद्वं टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँधेका थिए । असोज ७ गते बिहान ७ बजेर ४७ मिनेटको साइतमा ‘यःसिं थनेगु’ अर्थात् इन्द्रध्वजोत्थान गरिएको थियो।
सोही दिन नेवार समुदायले दिवंगत आफन्तहरूको सम्झनामा काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाएका थिए। यसै दिन गणेश र भैरवलाई कुमारी घरमा ल्याई तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी निम्तो दिइएको थियो। एकादशीकै दिन सरकारका तर्फबाट श्री गणेश र श्री भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिइएको थियो।
दाँगीको नगर परिक्रमा
आजको रथयात्रा सम्पन्न भएपछि दाँगीको नगर परिक्रमा गर्ने परम्परा छ। दाँगीलाई इन्द्रदेवकी आमाका रूपमा मानिने गरिन्छ। वर्षभरि दिवंगत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको नगर परिक्रमा गराउने परम्परा इन्द्रजात्रासँग जोडिएको छ ।
नागार्जुन नगरपालिकास्थित इन्द्र सरोवरमा दाँगी जाने श्रद्धालुका लागि यस वर्षदेखि काठमाडौँ महानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ। सेवा परोपकार पुलबाट सुरु हुनेछ ।
शनिवार माथिल्लो टोलमा रथयात्रा
इन्द्रजात्राअन्तर्गत भोलि माथिल्लो टोलमा रथयात्रा हुनेछ । आश्विन १३ गते मंगलबार नानीचाया पर्वका दिन माथिल्लो टोलको किलाघः हुँदै नगर परिक्रमा गराउने परम्परा छ।
इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीको सहभागिता रहँदै आएको छ। विगत १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तान्ने परम्परा निरन्तर छ ।
नानीचाया रथयात्राका क्रममा वसन्तपुर, प्याफल, यटखा, नरदेवी, किलाघः, भेडासी, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै पुनः वसन्तपुर पुग्ने मार्ग तय गरिएको छ ।
यस दिन राष्ट्रपतिले कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा पनि छ ।
रथयात्रा हुने मार्गमा स्थानीय क्लब तथा संस्थाले देवीदेवताका रथलाई स्वागत गर्दै विशेष पूजा गर्ने व्यवस्था मिलाएका छन्। रथयात्राका क्रममा लाखे आजु, पुलुकिसी र हलचोक आकाश भैरव पनि सहभागी हुने परम्परा छ ।
इन्द्रजात्राका प्रमुख आकर्षणमा देवी नाच, महाकाली नाच र दश अवतार प्रदर्शन पनि छन्। जात्रा व्यवस्थापन, सुरक्षा, स्वयंसेवा तथा अन्य कार्यका लागि विभिन्न उपसमिति गठन गरिएका छन् भने स्थानीय समुदाय तथा क्लब–संस्थाले समेत व्यवस्थापनमा सहयोग गर्नेछन् ।
इन्द्रजात्राका क्रममा हनुमानढोकास्थित श्री श्वेत भैरवको मुखबाट प्रसादस्वरूप जाँड खुवाउने परम्परा पनि छ । जात्रा अवधिभर विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन, नाच तथा पूजा सञ्चालन हुनेछन ्।
Categorized in सम्पदा/संस्कृति