१८ भाद्र २०८३, बिहिबार
Header

रसुवा बाढीमा ज्यान गुमाएकाहरू प्रति संसदमा मौनधारण, हालसम्म १ हजार ११४ जनाको शव फेला


प्रकाशित: बुधवार, १७ भाद्र २०८३, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ । 


तीमध्ये रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको जनाइएको छ ।


यसै विच आज बुधबार रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको स्मरणमा प्रतिनिधिसभाका सांसदहरूले  एक मिनेट मौनधारण गरेका छन ।


प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उपस्थित सांसदहरू उठेर बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा मौनधारण गरेका हुन । 


यसअघि प्रतिनिधिसभाले रसुवालगायत त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीपछिको विपद्का सम्बन्धमा विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सभामुख अर्यालले बैठकमा विशेष प्रस्ताव प्रस्तुत गरेपछि सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।


भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावतीसहित नुवाकोटको त्रिशूली बजार तथा देवीघाट क्षेत्र प्रभावित भएका थिए । बाढीले धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रसमेत प्रभावित बनाएको छ ।


बाढीपछि ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन भने २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।


प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेनले विपद्को अवस्थाबारे सांसदहरूलाई जानकारी गराएका थिए । उनले विपद्को गम्भीर अवस्थामा शरीर थाकेको भन्दै विश्राम लिने अवस्था नरहेको बताएका थिए । दुःख र पीडाबीच पनि तत्काल उद्धार, राहत तथा व्यवस्थापनमा जुट्नुपर्ने उनको भनाइ थियो ।


प्रधानमन्त्रीको ब्रिफिङपछि विभिन्न राजनीतिक दलका नेताहरूले बाढीबाट उत्पन्न अवस्थाबारे धारणा राखेका थिए । नेताहरूको सम्बोधनपछि सभामुखले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसअघि मंगलबार राष्ट्रिय सभाले पनि रसुवा बाढीका सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको थियो । राष्ट्रिय सभाले उद्धार, राहत, पुनःस्थापना तथा सम्पर्कविहीनहरूको खोजीलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको थियो ।


त्यस्तै, घाइतेहरूको निःशुल्क उपचार, वैज्ञानिक रूपमा शव व्यवस्थापन, पुनर्निर्माणमा तहगत सरकारबीच प्रभावकारी समन्वय तथा स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न सरकारलाई सिफारिस गरिएको थियो ।

 

राष्ट्रिय सभाले विपद् व्यवस्थापनका क्रममा राष्ट्रिय एकता कायम गर्दै प्रभावित नागरिकको जीवनरक्षा, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex