११ श्रावण २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

माइतीघर क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि 


प्रकाशित: आइतवार, ९ साउन २०८३, १८ः३० बजे
- महानगरखवर

काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा बारम्बार हुने डुबानको मुख्य कारण ढल निकास प्रणालीमा रहेको इन्जिनियरिङ त्रुटि, जल प्रवाह क्षेत्रमाथिको अतिक्रमण तथा प्राकृतिक जलशोषक (रिचार्ज) क्षेत्रको विनाश रहेको प्राविधिक समितिले निष्कर्ष निकालेको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर के.सी. को संयोजकत्वमा गठित समितिका प्रतिवेदनअनुसार माइतीघर क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ । 


माइतीघरमा प्रवेश गर्ने ९० सेन्टिमिटर चौडाइको ढल तल्लो भागमा पुग्दा ६० सेन्टिमिटरमा साँघुरिएको पाइएको छ । यसले पानीको प्रवाहमा अवरोध सिर्जना गरी ‘बोटलनेक’ समस्या उत्पन्न गराउँदा भारी वर्षामा सडकमा पानी ओभरफ्लो हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।


काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा साउन ५ गते गरिएको स्थलगत अनुगमनपछि यो प्रतिवेदन तयार गरिएको हो ।

 
त्यस्तै, टुकुचा खोलाको सतह बढ्दा ढलको पानी खोलामा नजाने र उल्टै बस्ती तथा सडकतर्फ फर्कने ‘ब्याक फ्लो’ समस्या पनि डुबानको प्रमुख कारणका रूपमा पहिचान गरिएको छ ।


भौतिक पूर्वाधारबाहेक सहरीकरणका कारण प्राकृतिक जलशोषण क्षमता घटेको पनि प्रतिवेदनले औँल्याएको छ । माइतीघर आसपासका खुला क्षेत्रहरू पहिले वर्षाको पानी जमिनमुनि सोस्ने प्राकृतिक रिचार्ज क्षेत्रका रूपमा कार्यरत थिए। तर अहिले काठमाडौँ जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयजस्ता ठूला संरचना निर्माण भएपछि ती क्षेत्र कंक्रिटले ढाकिएका छन । यसले पानी जमिनमा नसोसिएर सतहमा जम्मा भई माइतीघर मण्डलामा केन्द्रित हुने अवस्था सिर्जना भएको छ ।


अनुगमनका क्रममा ढलमाथि नै निजी तथा सरकारी संरचना निर्माण भएको पाइएको छ, जसले नियमित सरसफाइमा अवरोध पुर्‍याएको छ । ढलभित्र प्लास्टिकजन्य फोहर, बोतल, ढुंगा–गिट्टी तथा निर्माणजन्य फोहर थुप्रिँदा पानीको प्रवाह थप अवरुद्ध भएको पनि प्रतिवेदनमा उल्लेख छ । अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले सबै अवरोधहरू हटाउन स्थानीय प्रशासन र सम्बन्धित निकायलाई समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिनुभएको थियो । 


समितिले तत्काल र दीर्घकालीन दुवै प्रकारका समाधान सिफारिस गरेको छ । तत्कालका लागि अवरुद्ध ढल सफा गर्ने, म्यानहोलको उचाइ बढाउने र नियमित सरसफाइलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।


दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गामा भूमिगत ठूलो क्षमताको वर्षा पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले अत्यधिक वर्षाको समयमा पानी अस्थायी रूपमा भण्डारण गरी क्रमशः निकास दिन सहयोग गर्नेछ ।


त्यस्तै, टुकुचा खोलाको निकास बिन्दुमा पानी फिर्ता हुन नदिने ‘नन–रिटर्न भल्भ’ जडान गर्न, काठमाडौँ उपत्यकाको सम्पूर्ण ढल सञ्जालको जीआईएस म्यापिङ गर्न तथा माइतीघर क्षेत्रको क्याचमेन्ट क्षेत्रका आधारमा ढल क्षमताको पुनः डिजाइन गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ ।


सडक, खानेपानी, ढल तथा विद्युत् जस्ता निकायबीच समन्वयको अभाव अन्त्य गर्दै एकीकृत पूर्वाधार व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने आवश्यकता पनि प्रतिवेदनले जोड दिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex