काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ का लागि महानगरको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गर्नुभएको छ ।
नगर सभाको १९औँ अधिवेशन बैठकमा कार्यवाहक प्रमुख डंगोलले महानगरको दीर्घकालीन सोच, उद्देश्य तथा योजनालाई आधार बनाएर ११ वटा मुख्य क्षेत्र समेटिएका १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
साथै, चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुन नसकेका बहुवर्षीय कार्यक्रमलाई निरन्तरता दिने नीति पनि समेटिएको छ ।
प्रस्तावित नीति तथा कार्यक्रममा काठमाडौँको ऐतिहासिक महत्व, सांस्कृतिक सम्पदा, भौतिक पूर्वाधार तथा आधुनिक सहरी विकासलाई प्राथमिकता दिइएको छ ।
नीतिमा सुशासन तथा शासकीय व्यवस्थापन, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना तथा पूर्वाधार विकास, सम्पदा, संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि तथा उपभोक्ता हितका विषयलाई समेटिएको छ ।
नीति प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले यसको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सक्रिय सहभागिताको अपेक्षा गर्नुभयो । उहाँले अन्तरसरकारी समन्वय र साझेदारीमार्फत महानगरले तय गरेका लक्ष्य हासिल गरिने बताउनुभयो ।
Categorized in पालिका