काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहमा ‘जो बेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँलाई सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्नुभएको हो ।
घोषणासँगै यसको प्रभावकारी कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र मानव सेवा आश्रमबीच चारपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डंगोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार सडक वा सार्वजनिक स्थलमा भेटिने सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, व्यवस्थापन तथा पुनःस्थापनाका कार्यहरू सम्बन्धित निकायहरूको समन्वय र एकीकृत प्रणालीमार्फत सञ्चालन गरिनेछ ।
समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँलाई सांस्कृतिक सहरसँगै मानवतामा आधारित सहरका रूपमा स्थापित गर्ने उद्देश्यले यो घोषणा गरिएको बताउनुभयो। “यो न त सुरुआत हो, न अन्त्य नै । हामी विगत नौ वर्षदेखि निरन्तर काम गरिरहेका छौँ र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउनेछौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार महानगरले अहिलेसम्म सडकमा देखिएका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिसकेको छ र भविष्यमा पनि सडकमा भेटिने जो–कोहीलाई तत्काल उद्धार तथा पुनःस्थापनाका लागि संयन्त्र परिचालन गरिनेछ ।
कार्यक्रममा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवता प्रवद्र्धनका क्षेत्रमा विगतमा पर्याप्त काम हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा केवल भौतिक सुरक्षामा सीमित नभई स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षाजस्ता आधारभूत विषयसँग पनि जोडिएको बताउँदै महानगर र नेपाल प्रहरीले अब एकीकृत सुरक्षाको अवधारणाअनुसार काम गर्ने जानकारी दिनुभयो ।
महानगरपालिकाले २०७४ सालदेखि मानव सेवा आश्रमसँग सहकार्य गर्दै सडक सहयोगापेक्षीहरूको व्यवस्थापनका लागि वार्षिक औसत दुई करोड रुपैयाँ खर्च गर्दै आएको जनाएको छ ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार आश्रमले स्थापना कालदेखि हालसम्म देशभरबाट १३ हजार ६९८ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । त्यसमध्ये २०७४ मंसिर १ गतेयता काठमाडौँ महानगरपालिका क्षेत्रबाट मात्रै दुई हजार ४२१ जनाको उद्धार तथा व्यवस्थापन गरिएको छ ।
उद्धार गरिएकामध्ये भारत, पाकिस्तान, बङ्गलादेश, अमेरिका, रुस, चीन, फ्रान्स र बेलायतका नागरिकसमेत रहेका छन ।
सोही अवसरमा मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा सञ्चालन गरिएको ‘मेची–महाकाली अभियान’को पनि समापन गरिएको छ ।
अभियानका क्रममा १९७ जना सहयोगापेक्षी व्यक्तिको उद्धार तथा व्यवस्थापन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद् डा. गोविन्द टण्डनलगायत वक्ताहरूले सहयोगापेक्षी मानवमुक्त घोषणा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि राज्यले स्पष्ट नीति निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
साथै, मानव सेवामा समर्पित स्वयंसेवकहरूको सम्मान, प्रोत्साहन र पहिचान आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
Categorized in पालिका