१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आगामी आर्थिक वर्षको बजेटमा कुन क्षेत्रमा कति बजेट ? 


प्रकाशित: शुक्रवार, १५ जेठ २०८३, १७ः३५ बजे
- महानगरखबर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटमार्फत खेलकुद, पूर्वाधार, ऊर्जा, शिक्षा, सूचना प्रविधि तथा सार्वजनिक यातायात क्षेत्रमा महत्वाकांक्षी योजनाहरू अघि सारेको छ । 


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै विभिन्न क्षेत्रका लागि ठूलो रकम विनियोजन गरिएको घोषणा गरेका हुन ।


सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । 


खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष्यसहित आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने घोषणा गरिएको छ ।


ऊर्जा पूर्वाधारतर्फ सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माणका लागि ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ । 


आगामी आर्थिक वर्षमै हेटौंडा–ढल्केवर प्रसारणलाइन निर्माण सम्पन्न गरिने तथा अन्तरदेशीय प्रसारणलाइनलाई समेत प्राथमिकता दिइने अर्थमन्त्री वाग्लेले बताए ।


सडक तथा शहरी विकास पूर्वाधारका लागि सरकारले २ खर्ब ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।


‘भिजन काठमाडौं–२०४०’ अन्तर्गत अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत गर्ने, खुला क्षेत्र विकास गर्ने लगायतका योजना एकीकृत रूपमा अघि बढाइने जनाइएको छ ।


यातायात क्षेत्रमा सरकारले महिलाका लागि सीसी क्यामेरासहितको ‘ब्लूबस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । 


साथै काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने र विद्युतीय सार्वजनिक बस सञ्चालनमार्फत स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरु गरिने बताइएको छ । 


पोखरामा समेत विद्युतीय बसमार्फत सार्वजनिक यातायातलाई रूपान्तरण गर्ने योजना सरकारले अघि सारेको छ ।


सूचना प्रविधि र डिजिटल अर्थतन्त्रतर्फ सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयर सरकारसँग कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ । 
सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’ बनाउने अभियानमा उपयोग गरिने अर्थमन्त्री वाग्लेले बताए ।


शिक्षा क्षेत्रमा सरकारले २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यद्यपि यो रकम भौतिक तथा शहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार क्षेत्रमा छुट्याइएको बजेटभन्दा कम रहेको छ ।


सरकारले नेपाललाई एआई (कृत्रिम बुद्धिमत्ता) को युगमा आत्मविश्वासका साथ प्रवेश गराउने उद्देश्यसहित काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गर्ने योजना पनि सार्वजनिक गरेको छ ।


सरकारका यी घोषणालाई पूर्वाधार विकास, डिजिटल रूपान्तरण र हरित सार्वजनिक यातायाततर्फको दीर्घकालीन रणनीतिक कदमका रूपमा हेरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex