काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार काठमाडौं महानगरपालिका–२८ स्थित शहीद शुक्र माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क दन्त शिविर सम्पन्न गरिएको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क, बागबजारको आयोजनामा तथा ओम डेन्टल हस्पिटल चावहिलको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको थियो ।
कार्यक्रममा प्रहरी वृत्त सिंहदरबारका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने सामुदायिक सेवा केन्द्र पुरानो बसपार्कका अध्यक्ष कमरुदिन मियाँले अध्यक्षता गरेका थिए ।
शिविरमा स्थानीय बासिन्दा, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । ओम डेन्टल हस्पिटल चावहिलको प्राविधिक टोलीले दन्त परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेको आयोजकले जनाएको छ ।
उक्त शिविरमा २ सय भन्दा बढीले दाँत सम्बन्धी विभिन्न समस्याको सेवा लिएका थिए ।
कार्यक्रमको समापनसँगै शिविरमा खटिएका चिकित्सक तथा प्राविधिक टोलीलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष रमा थापा, सुरेन्द्र शाही खड्गी, महासचिव होमप्रसाद खड्गी, सचिव अजय खड्गीको सहभागीता रहेको थियो ।
त्यसैगरी, सदस्यहरु अन्जु श्रेष्ठ, राधेश्याम तण्डुकार, विक्रम ताम्रकार, बसन्तकुमार तण्डुकार, दिपा केसी, आशा महर्जन, सेवा केन्द्रका प्रहरी जवान लक्ष्मण खड्का लगायतको उपस्थिती रहेको थियो ।
आयोजकले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन ।
Categorized in समाज