काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध जारी रहँदा बैठक पुनः स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराई जवाफ दिन रुलिङ गर्न माग गर्दै कांग्रेस सांसदहरूले विरोध जनाएपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन ।
यसअघि पनि सोही विषयमा अवरोध भएपछि बैठक अल्पकालीन रूपमा स्थगित गरिएको थियो ।
आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
प्रधानमन्त्री शाहको अनुपस्थितिमा उक्त प्रस्ताव अर्थमन्त्री डा।.स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने जानकारी सभामुखले गराएलगत्तै विपक्षी सांसदहरूले उठेर अवरोध सुरु गरेका थिए ।
यसअघि सभामुख अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपछि बैठक सञ्चालन गरिएको थियो ।
छलफलअनुसार अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव पेस गरे पनि कांग्रेस सांसदहरूले पुनः विरोध जनाउँदै सदन अवरुद्ध पारे ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै सभामुखसँग रुलिङको आग्रह गरेका थिए ।
तर सभामुख अर्यालले रुलिङभन्दा संवादमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राख्दै आजकै कार्यसूचीमा प्रधानमन्त्री उपस्थित हुन सम्भव नरहेको संकेत गरेका थिए ।
बैठकका क्रममा सभामुख अर्यालले प्रधानमन्त्रीसँग आजै छलफल गर्ने जानकारी पनि गराए ।
‘आजको सभा सकिएपछि प्रधानमन्त्रीसँग संवाद गर्ने कुरा छ, त्यसकारण आज जवाफ दिन सम्भव हुँदैन,’ उनले भने ।
उनले प्रधानमन्त्रीको उपस्थितिबारे भोलिको बैठकका लागि कार्यव्यवस्था समितिमा छलफल गरिने बताए पनि कांग्रेस सांसदहरूले अवरोध जारी राखेपछि बैठक पुनः स्थगित भएको हो ।
Categorized in राष्ट्रिय