२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निःशुल्क वाटर एटिएमको दुरुपयोग बढेपछि महानगरको यस्तो अपिल


प्रकाशित: सोमवार, २८ बैशाख २०८३, १३ः२० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएका निःशुल्क वाटर एटीएम वुथहरूको दुरुपयोग बढ्दै गएको पाइएको छ । 


पिउने पानीका लागि मात्र स्थापना गरिएका यी वुथहरू अन्य कार्यमा प्रयोग भइरहेको तथ्य सीसीटिभी फुटेजबाट देखिएको हो ।


महावौद्धस्थित एक वुथमा एक व्यक्तिले पानी पिउनुअघि हातमुख धुने तथा अन्य गतिविधि गरेको देखिएको महानगरले जनाएको छ । 


यस्तै, खुला मञ्चमा रहेको वुथमा एक ज्येष्ठ नागरिकले भित्री कपडा धोएको दृश्य पनि क्यामरामा कैद भएको छ ।


वैशाख ५ गते ‘भेहिकल फ्री असन’ कार्यक्रम सुरु हुने क्रममा जमलस्थित वुथबाट बोतलमा पानी भरेर मःमः पकाउन लगिएको घटना समेत सार्वजनिक भएको छ । होलीका दिन वडा नम्बर ५ मा रहेको वुथबाट मात्र डेढ घण्टामा ३ हजार लिटर पानी सकिएको थियो। पछि फुटेज जाँच गर्दा उक्त पानी होली खेल्न प्रयोग भएको पुष्टि भएको छ ।


महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाईका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले वुथको उद्देश्यबारे स्पष्ट पार्दै भन्नुभयो, “यी वुथ विशुद्ध पिउने पानीका लागि हुन्। यहाँबाट पानी भरेर लैजान वा अन्य प्रयोजनमा प्रयोग गर्न मिल्दैन ।”


काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा हाल ८ वटा निःशुल्क वाटर एटीएम वुथ सञ्चालनमा छन ।


२०८३ वैशाख ५ गते औपचारिक उद्घाटन गरिएका यी वुथहरूको निर्माण लागत २ करोड ६० लाख रुपैयाँ रहेको छ ।


खुला मञ्च, महावौद्ध, दरबार हाइस्कूल परिसर (जमल–कमलाछी सडक), राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, लिङ्क रोड ढल्को चोक, नरदे (हाँडीगाउँ), वडा नं. २६ र ३१ परिसरमा यी वुथ जडान गरिएका छन ।


प्रत्येक वुथमा ३ हजार लिटर पानी भण्डारण क्षमता रहेको छ र २४ सै घण्टा निःशुल्क स्वच्छ पिउने पानी उपलब्ध गराइन्छ ।


वुथहरूमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको छ भने पानीको गुणस्तर नियमित परीक्षण हुने गरेको छ । दुरुपयोग रोक्न निगरानीका लागि सीसीटिभी क्यामरा समेत राखिएको छ ।


महानगरले सर्वसाधारणलाई वुथको सही उपयोग गर्न आग्रह गर्दै यसको संरक्षणमा सहयोग गर्न अपिल गरेको छ ।


महानगरका अनुसार यी वुथहरू केवल पानी वितरणका लागि मात्र नभई स्वच्छ खानेपानीमा पहुँच विस्तार गर्ने र दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले स्थापना गरिएका हुन । 


परम्परागत जरुहिटीको आधुनिक स्वरूपका रूपमा विकास गरिएका वुथहरूले बटुवालाई सहज रूपमा पानी उपलब्ध गराउने लक्ष्य लिएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex