काठमाडौं । व्यवसायी तथा समाजसेवी रवीन्द्रराज ताम्रकार ‘प्वाःस्या’ द्वारा लिखित संस्कृति, समाज व व्यवसाय पुस्तक बजारमा आएको छ ।
ताम्रकारका २४ वटा लेखहरूको संग्रह रहेको उक्त पुस्तक लहना मिडियाले प्रकाशन गरेको हो ।
राजधानीमा आयोजित एक समारोहबीच प्रतिनिधिसभा सदस्य कुलभक्त शाक्य, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकार, प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का अध्यक्ष लक्की चौधरी, लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ तथा प्रबन्ध सम्पादक सुरेन्द्रभक्त श्रेष्ठले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए ।
पुस्तकमा नेपालभाषाका १३ र नेपाली भाषाका ११ वटा लेख समावेश छन् भने विभिन्न पत्रपत्रिकामा प्रकाशित १७ वटा अन्तर्वार्ता पनि समेटिएका छन ।
नेपालभाषाका लेखहरूमा विशेषतः ताम्रकार समाजको नेतृत्व सम्हालेको अवधिमा लेखिएका सामग्री समावेश छन, जसमा जावलाखेलस्थित श्री उग्रचण्डीमाईको इतिहास, अभिलेख, सामाजिक गतिविधि, रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित विषय तथा गुथि विधेयकविरुद्धका आन्दोलन लगायतका सांस्कृतिक पक्ष समेटिएका छन ।
त्यसैगरी नेपाली भाषाका लेखहरू मुख्यतया आर्थिक विकाससँग सम्बन्धित छन्। ललितपुर उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारीमा रहँदा लेखिएका ती सामग्रीमा तामा–पित्तल व्यवसायका चुनौती, निर्यात उद्योग, हस्तकला क्षेत्रका समस्या तथा ललितपुरको आर्थिक सम्भावना लगायतका विषय उठाइएको छ ।
समारोहमा वक्ताहरूले पुस्तकले व्यवसाय, समाज र संस्कृतिबीचको सम्बन्धलाई उजागर गर्दै ताम्रकार समुदायको जीवनशैली बुझ्न महत्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा काम गर्ने बताए। पुस्तकको आवरणले पनि व्यवसाय र सांस्कृतिक सम्बन्धलाई झल्काउने उल्लेख गरिएको थियो ।
कार्यक्रममा लेखक ताम्रकारले लेखनप्रतिको आफ्नो निरन्तर अभ्यासकै परिणामस्वरूप पुस्तक प्रकाशन सम्भव भएको बताए ।
Categorized in समाज