२१ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ मापदण्ड सार्वजनिक


प्रकाशित: सोमवार, २१ बैशाख २०८३, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन नयाँ मापदण्ड तयार गरेको छ । 


पार्टीले ३५ हजार २१ पदका लागि उम्मेदवार छनोट गर्दा योग्यता, क्षमता र पारदर्शितालाई प्राथमिकतामा राख्दै ६ आधार तय गरेको जनाएको छ ।


रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार उम्मेदवार बन्न इच्छुक पार्टी सदस्यले सर्वप्रथम ‘क्यान्डिडेट क्लब’मा औपचारिक आवेदन दिनुपर्नेछ । त्यसपछि ‘लिडरसिप एकेडेमी’मार्फत अनिवार्य प्रशिक्षण तथा मूल्यांकन प्रक्रिया पार गर्नुपर्ने व्यवस्था गरिएको छ ।


पार्टीले उम्मेदवार छनोटमा लिडरसिप एकेडेमीलाई २५ प्रतिशत भारांक दिएको छ । यसअन्तर्गत आकांक्षीले विभिन्न सूचकमा प्राप्त गरेको अंकलाई समग्र मूल्यांकनमा समावेश गरिनेछ । तोकिएको न्यूनतम मापदण्ड पार नगर्ने आकांक्षी स्वतः प्रक्रियाबाट बाहिरिनेछन ।


त्यसैगरी ‘पोलिटिकल प्रोक्सिमिटी’ अर्थात पार्टीप्रतिको लगाव, राजनीतिक आबद्धता लगायतका आधारमा २५ प्रतिशत मूल्यांकन गरिनेछ। प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) लाई सबैभन्दा बढी ४० प्रतिशत भार दिइएको छ ।


प्राइमरी इलेक्सनमा सम्बन्धित वडा वा पालिकाभित्रका पार्टी सदस्यहरूको मतभार ७५ प्रतिशत हुनेछ भने पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहका सदस्यहरूको १५ प्रतिशत तथा सोही क्षेत्रमा बसोबास गर्ने केन्द्रीय पदाधिकारीहरूको मतभार १० प्रतिशत रहनेछ ।


यसबाहेक समावेशीतालाई पनि १० प्रतिशत भार दिइएको छ ।


रास्वपाले यसअघि पनि यस्ता विधि अपनाउने प्रयास गरे पनि प्रभावकारी कार्यान्वयन र पारदर्शितामा कमजोरी देखिएको भन्दै आलोचना भएको थियो ।  यसपटक भने प्रक्रिया थप स्पष्ट र व्यवस्थित बनाइएको पार्टीको दाबी छ ।


यसैबीच, पार्टीले ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था पनि लागू गर्ने तयारी गरेको छ । 


नयाँ सदस्य बनेकाहरूले कम्तीमा ४५ दिनपछि मात्र क्यान्डिडेट क्लबमा आवेदन दिन पाउनेछन भने अन्य दल त्यागेर आएका सदस्यका लागि ९० दिनको अवधि अनिवार्य गरिएको छ ।


रास्वपाले उम्मेदवार छनोट सम्बन्धी मस्यौदा तयार गरी सचिवालयमा बुझाइसकेको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex