काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको दल नेतामा कमला पन्तलाई मनोनीत गरेको छ ।
संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज बुधवार पन्तलाई उक्त जिम्मेवारी दिएका हुन ।
पार्टी विधानअनुसार संसदीय दल नेताले राष्ट्रिय सभा दल नेता तोक्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाअनुसार यसअघि दल नेताको जिम्मेवारीमा रहेका कृष्णप्रसाद सिटौलालाई हटाएर पन्तलाई नियुक्त गरिएको हो ।
सिटौलालाई यसअघि शेरबहादुर देउवा संसदीय दल नेता रहँदा राष्ट्रिय सभा दल नेता बनाइएको थियो। पछिल्लो निर्णयसँगै कांग्रेसको राष्ट्रिय सभा नेतृत्वमा परिवर्तन आएको छ ।
नवनियुक्त दल नेता पन्त गोरखाबाट २०५१ र २०५६ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन । उनी महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी अनुभवी नेतृ हुन ।
हाल पन्त गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेकी छन ।
प्रमुख सेचतकमा वास्ना र सेचतकमा निश्कल मनोनित

यसैविच, नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आज पदमा मनोनयन गरेका हुन ।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) बमोजिम प्रमुख सचेतकमा थापा तथा धारा १३ (३) बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।
नयाँ जिम्मेवारीसँगै संसदीय दलभित्र दुवै नेताको भूमिकालाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
Categorized in राष्ट्रिय