काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा बढेको देखिएको छ ।
साउनदेखि चैतसम्मको अवधिमा बैंकहरूको कुल नाफा १९ प्रतिशतले वृद्धि भई ४९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कुल नाफा ४१ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
सञ्चालनमा रहेका २० मध्ये ६ वाणिज्य बैंकको नाफा ४ प्रतिशतदेखि ५५ प्रतिशतसम्म घटेको छ । विशेषगरी प्रभुबैंक को नाफा सबैभन्दा धेरै ५५ प्रतिशतले घटेर अघिल्लो वर्षको १ अर्ब ८७ करोडबाट ८५ करोड रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, कुमारी बैंक को नाफा सबैभन्दा धेरै बढ्दै १४ गुणाले वृद्धि भई ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । नाफाको आकारका आधारमा भने नबिल बैंक अग्रस्थानमा रहँदै ६ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ ।
बैंकहरूको निष्क्रिय कर्जा (एनपीए) भने अझै उच्च रहेको छ । औसत निष्क्रिय कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ५।२५ प्रतिशत पुगेको छ । पाँच बैंक—प्रभु, हिमालयन, एनआइसी एसिया, कुमारी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक—को यस्तो अनुपात ७ प्रतिशतभन्दा माथि पुगेको छ ।
यस अवधिमा बैंकहरूले प्रावधानमा राख्ने रकम पनि केही घटेको छ । अघिल्लो वर्ष ३४ अर्ब ८१ करोड रुपैयाँ रहेको यस्तो रकम यसपटक ३४ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ ।
नेपाल बैंक लिमिटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र एभरेस्ट बैंक ले अघिल्लो वर्षको प्रावधानबाट केही रकम फिर्ता (राइट ब्याक) गरेका छन ।
बैंकहरूको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी भने सामान्य रूपमा मात्रै बढेको छ । कुल खुद ब्याज आम्दानी २ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंक को यस्तो आम्दानी २३ प्रतिशतले बढ्दै ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने केही बैंकहरूको आम्दानी घटेको देखिएको छ ।
त्यसैगरी, एनआइसी एसिया बैंकको खुद ब्याज आम्दानी सबैभन्दा धेरै २१ प्रतिशतले घटेर ६ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ ।
वित्तीय विवरणअनुसार २० मध्ये ५ बैंक तत्काल लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन भने केही बैंकले २० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने सम्भावना देखिएको छ ।
सिद्धार्थ बैंक ले भने अघिल्लो ऋणपत्रका लागि राखिएको रकम फिर्ता आएपछि वितरणयोग्य नाफा बढाउँदै करिब २१ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिएको छ ।
यस अवधिमा बैंकहरूको प्रतिसेयर आम्दानी (ईपीएस) औसत १७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १४ रुपैयाँ ५३ पैसाको तुलनामा केही सुधार हो ।
Categorized in बैंक