काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस भएका अध्यादेशहरू हाल अध्ययनको क्रममा रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन ।
यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सोही सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए । तर, त्यसपछि सरकारले वैशाख १० गते अधिवेशन स्थगित गर्न पुनः सिफारिस गरेपछि अधिवेशन स्थगित गरिएको थियो ।
सरकारले प्रतिनिधिसभा आह्वान गरेर स्थगित गरेपछि संवैधानिक नियुक्ति प्रक्रियालाई अगाडि बढाउन अध्यादेश ल्याउने तयारी गरेको हो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश र विपक्षी दलका नेता गरी ६ सदस्य रहने व्यवस्था छ ।
सोमबार मात्रै नेपाली कांग्रेसले प्रतिनिधिसभामा दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ । कांग्रेसले दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेको हो ।
Categorized in राष्ट्रिय