काठमाडौँ । अब प्रतिनिधिसभा बैठकका क्रममा सांसदहरूले मोबाइल फोन प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रतिनिधिसभा सञ्चालन नियमावलीको नयाँ मस्यौदामा बैठकको मर्यादा कायम राख्न मोबाइल प्रयोगमा कडाइ गर्ने प्रावधान समेटिएको हो ।
सांसद गणेश पराजुलीको नेतृत्वमा २३ चैतमा गठन गरिएको मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमा बैठक सञ्चालनसम्बन्धी नियम २० अन्तर्गत बैठकमा सहभागी सांसदले पालना गर्नुपर्ने ११ वटा आचारसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रस्तावित उपनियम ‘ट’ मा बैठक कक्षभित्र मोबाइल फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न नपाइने उल्लेख गरिएको छ ।
मस्यौदामा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सदस्यले उठेर सम्मान प्रकट गर्नुपर्ने र सभामुखले पनि बैठकप्रति सम्मान जनाउँदै आसन ग्रहण गर्नुपर्ने व्यवस्था राखिएको छ । त्यस्तै बैठक स्थगित भई सभामुख बाहिरिएपछि मात्र सदस्यहरूले बैठक कक्ष छाड्न पाउने उल्लेख छ ।
बैठकमा बोल्ने क्रममा सदस्यहरूले सभामुखलाई सम्बोधन गरेर मात्र बोल्नुपर्ने र अन्यथा निर्देशन नभएसम्म तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
सभामुखले बैठकलाई सम्बोधन गरिरहेका बेला कुनै सदस्यले स्थान छाड्न नहुने तथा सभामुखको आसन र बोलिरहेका सदस्यबीचबाट हिँड्न नपाइने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।
यस्तै, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न वा उभिन नपाइने, अन्य सदस्य बोलिरहेका बेला बाधा पुग्ने गतिविधि गर्न नहुने तथा बैठकको मर्यादा भंग हुने कुनै पनि काम नगर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार बैठकको कार्यसँग प्रत्यक्ष सम्बन्धित विषयबाहेक अन्य पुस्तक, समाचारपत्र वा कागजपत्र पढ्न पनि नपाइने व्यवस्था गरिएको छ ।
नियमावली पारित भएपछि संसद् बैठकको अनुशासन, मर्यादा र कार्य सञ्चालन अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

Categorized in राष्ट्रिय