काठमाडौँ । असन क्षेत्रको मौलिकता पुनस्र्थापना गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले आजदेखि विशेष पुनरुत्थान अभियान सुरु गरेको छ ।
अभियानको शुभारम्भ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले असन डवलीमा आयोजित विशेष समारोहबीच गर्नुभएको हो ।
उद्घाटनअघि कमलाक्षी (कःमिलाछी) (दरबार हाइस्कूल छेउ) देखि असन हुँदै भोटाहिटी, महाबौद्ध स्तूप र केलटोल (क्यलःत्वाः) सम्म सांस्कृतिक बाजागाजासहित पदयात्रा गरिएको थियो ।
पदयात्रामा क्षेत्रका १३ वटा गुठी तथा परम्परागत वादन–गायन समूहका सदस्यहरूले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
कार्यक्रमको निरन्तरताका लागि केलटोल पुगेपछि अभियान वडा नं। २५ का अध्यक्ष राजेश डंगोललाई हस्तान्तरण गरिएको थियो ।
यसै क्रममा कार्यवाहक प्रमुख डंगोलले कमलाक्षी र महाबौद्ध क्षेत्रमा निर्माण गरिएका निःशुल्क वाटर एटीएम बुथको उद्घाटनसमेत गर्नुभएको थियो ।
हरेक शनिबार विशेष कार्यक्रम
महानगरपालिकाका अनुसार अभियान अब हरेक शनिबार विशेष सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित सञ्चालन हुनेछ ।
वडा नं. २७ को नेतृत्वमा अन्नपूर्ण आरसीटी क्लब, स्थानीय क्लब, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदार संस्थाहरूको सहभागितामा स्थानीय अपनत्वसहित कार्यक्रम अघि बढाइनेछ ।
कार्यक्रम उद्घाटन गर्दै कार्यवाहक प्रमुख डंगोलले असन सहरी बस्ती मात्र नभई काठमाडौँको इतिहास र पहिचान बोकेको जीवन्त क्षेत्र भएकाले यसको मौलिक स्वरूप फर्काउन स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
उहाँले पैदलयात्रीमैत्री, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री सहरी व्यवस्थापनतर्फ महानगरले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
नेवार सभ्यताको निरन्तरतामा जोड
कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले असन क्षेत्रमा हरेक शनिबार हुने गतिविधि नेवार सभ्यताको निरन्तरता कायम गर्ने अभ्यास भएको उल्लेख गर्नुभयो ।
यस्ता परम्परा कागजमा मात्र नभई व्यवहारमा उतार्न आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले वडा नं। ५ नरदे (हाँडीगाउँ) मा यस्तै कार्यक्रम सफल रूपमा सञ्चालन भइरहेको र आगामी दिनमा वडा नं। २५ र वडा नं। ८ मा पनि विस्तार गरिने जानकारी दिनुभयो ।
वडा अध्यक्ष योगेशकुमार खड्गीले यस्ता कार्यक्रम समुदायको सक्रिय सहभागिताविना सफल नहुने बताउँदै गुठी, क्लब, संघसंस्था, खलपुचः तथा युवाहरूको नेतृत्वमा कार्यक्रम अघि बढिरहेको जानकारी दिनुभयो ।
सांस्कृतिक जीवनशैली संरक्षणमा टेवा
असन क्षेत्र जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक सामग्री पाइने परम्परागत बजारका रूपमा चिनिन्छ ।
यहाँ रैथाने ज्ञान, आयुर्वेदिक औषधि, बीउबिजन, धार्मिक संरचना, डवली, पाटी, वहाल, बही र चुकननीजस्ता सम्पदाहरू रहेका छन ।
पछिल्लो समय यस्ता सम्पदामा परेको नकारात्मक प्रभावलाई ध्यानमा राख्दै संरक्षण तथा प्रवद्र्धनका लागि अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ ।
कार्यक्रमअन्तर्गत सामाजिक तथा सांस्कृतिक गतिविधि, रैथाने ज्ञान–सीप प्रदर्शनी, परम्परागत व्यापार प्रवद्र्धन, गायन, वादन तथा नृत्य कार्यक्रम सञ्चालन गरिनेछन्। यसबाट स्थानीयबासीको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सवारी आवागमनमा अस्थायी प्रतिबन्ध
अभियान सञ्चालन अवधिमा कमलाक्षी सिंहढोका, भोटाहिटी, वीर अस्पताल, वटु गणेश, भोँसीस्थित गणेश मन्दिर, इन्द्रचोक–मच्छिन्द्र बहाल क्षेत्रलगायत विभिन्न मार्गबाट असनतर्फ सवारी प्रवेश निषेध गरिएको छ । सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
असन आउने आगन्तुकका लागि धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका स्थानमा पार्किङको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।
Categorized in वडा