४ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेता तथा कर्मचारीको सम्पत्ति छानविन आयोग गठनसहित मन्त्रिपरिषदका हेरौं यी निर्णयहरु


प्रकाशित: बुधवार, २ बैशाख २०८३, २०ः४५ बजे
- महानगरखबर

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । 


सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन । 


प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले २०६२/०६३ सालदेखि यताका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । 


साथै २०८२ भदौ २३ र २४ गते घटेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्रतर्फ अध्ययन तथा सिफारिस गर्न तीन सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरिएको छ । 


यी हुन मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरूः–


१. अनुदान सहायता स्वीकार


बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप कोषका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त स्वीस फ्र्याङ्क १० लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।


२. अन्तःशुल्क अधिकृत तोक्ने निर्णय


आन्तरिक राजश्व विभागका उपमहामहानिर्देशक, निर्देशक, शाखा अधिकृत, ठूलो तथा मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा ५२ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई तोकिएको कार्यक्षेत्र हेर्नेगरी अन्तःशुल्क अधिकृतको रूपमा तोक्ने निर्णय गरिएको छ ।


३. नियमावली स्वीकृत


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ ।


४. नेपाल–भारत कानुनी सहायता सम्झौता जानकारीका लागि संसद्मा पेश गर्ने


नेपाल सरकार र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी २०८२ फागुन ५ गते हस्ताक्षर गरिएको सम्झौताबारे जानकारी प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरिएको छ ।


५. संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड स्वीकृत


संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी राष्ट्रिय मापदण्ड २०८२ स्वीकृत गरिएको छ ।


६. सम्पत्ति जाँचबुझ आयोग गठन


२०६२/०६३ देखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा आयोग गठन गरिएको छ । आयोगका सदस्यमा पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, गणेश केसी र प्रकाश लम्साल रहेका छन ।


७. सुरक्षा संयन्त्रसम्बन्धी अध्ययन समिति गठन


२०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्रतर्फ अध्ययन तथा सिफारिस गर्न प्रेमराज कार्की को संयोजकत्वमा समिति गठन गरिएको छ । समितिका सदस्यमा सुबोध अधिकारी र टेक प्रसाद राई रहेका छन ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex